पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल समसेर राणा एउटै मञ्चमा नदेखिएको धेरै भइसकेको छ । त्यसो त, धवल समसेरले यही कात्तिक १८ गते काठमाडौंमा आफू निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक आयोजनासमेत गरेका थिए । अध्यक्ष लिङ्देनले एक्लै पार्टी चलाएको उनको आरोप रहँदै आएको छ ।
समानान्तर गतिविधि संचालन गरेका महामन्त्री धवलप्रति अध्यक्ष लिङ्देन पनि उदार छैनन् । उनले सार्वजनिक मञ्चबाटै महाधिवेशन कुर्न र सक्ने भए अध्यक्षबाट हटाउन चुनौती दिँदै आइरहेका छन् ।
एउटै पार्टीको महत्वपूर्ण दुई पदमा रहेका यी नेताहरु सोमबार पोखरा नगर अधिवेशनको उद्घाटनको क्रममा एउटै मञ्चमा देखिए । देखिनु के थियो ? कार्यकर्ता अगाडि एउटाले अर्कालाई खुइल्याउने गरी मन्तव्य दिए ।
सुरुमा बोल्ने पालो रहेका धवल समेसेरले पार्टी नेतृत्वको असक्षमताको कारण पार्टी कमजोर बनेको र आउँदो चुनावमा एक सिट पनि नआउने जिकिर गरेका थिए । राजतन्त्र र हिन्दु राज्यका निम्ति दुर्गा प्रसाईंदेखि केशरबहादुरलाई पनि सँगै लिएर अगाडि बढ्नुपर्ने पनि उनले तर्क गरेका थिए ।
धवलको भनाइप्रति मञ्चमा पुगेका अध्यक्ष लिङ्देन सुरुदेखि नै आक्रामक सुनिए । उनले आफूले पार्टी संचालनको क्रममा कुनै कमजोरी नगरेको बताउँदै चित्त नबुझे महाधिवेशनमार्फत् आफूलाई हटाउन महामन्त्रीलाई चुनौती दिए ।
‘सबै कुरा पार्टी कमिटीमा बसेर छलफल गर्नुपर्छ । पार्टी अध्यक्षले ल्याएको प्रस्ताव कि त मान्नुप¥यो कि मत विभाजन हुन्छ । साह्रै चित्त बुझेको छैन भने महाधिवेशन आउँदैछ । आफूले केही काम नगर्ने अनि साथी हरुलाई सुनाएर पार्टी बर्बाद छ, नेता नेता लडार्ईं छ भन्ने,’राणाप्रति लक्षित गर्दै लिङ्देनले भने,‘ आफू केही काम नगर्ने अनि सवै बिग्रियो भन्ने । नेता–नेता लडाइँ छ भन्ने । कमल थापा पनि मिलाएन, केशरबहादुर पनि मिलाएन,दुर्गा प्रसाईं पनि मिलाएन, बाँधेर ल्याएर मिल्ने कुरा हो ? उनीहरु मिल्दैनन् भनेर राप्रपा नचल्ने हो त, तपाईंले संगठन नगर्ने हो त ? चुनाव नलड्ने हो त ? हिजो हामी चुनावमा जाँदा उनीहरु सँगै थिए र ? हामीले फराकिलो मन राख्नुपर्छ । सवैसँग कुरा पनि भइरहेको छ ।’
उनले राजावादी भनेर चिनिएका केही समूहबीच मिल्नै नसक्ने विषय भएको पनि जिकिर गरे ।‘कतिपय कुराहरु छन् । जुन चरित्र र व्यवहारले नै नमिल्ने खालको कुरा छ । मिल्नै चाहँदैन,’ उनले भने ।
‘आफ्नो पार्टीभित्रकै साथी तलमाथि गर्छ भने गाली गर्नुहोस् न । मलाई पनि गाली गर्नुहोस् न । पार्टीको पदमा बस्ने भोट अर्को पार्टीलाई हाल्ने, भरसक कागज नै लुकाउने अनि कसरी हुन्छ ?’
उनले अहिलेकै अवस्थामा चुनाव हुँदा सही उम्मेदवार उठाउने रकार्यकर्ताले मिहिने गर्ने हो भने राप्रपा नै पहिलो पार्टी हुने जिकिर पनि गरे ।
‘राप्रपाले कसरी जित्छ हैन, राप्रपा नेपालको पहिलो पार्टी बन्छ,’उनले भने ।
लिङ्देनले आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावअघि राजावादी, राष्ट्रवादी शक्ति र अन्य दलहरु मिलाएर सर्वपक्षीय सहमति गर्नुपर्नेमा जोड दिए । उनले राजतन्त्र अहिलेको प्रमुख आवश्यकता रहेको दाबी पनि गरे । उनले भने, ‘हामीले ल्याउने राजतन्त्र राप्रपाकोमात्र होइन, सम्पूर्ण देशको हितका लागि हो । समयअनुसार हिँड्न सक्नुपर्छ ।’
उनले अहिलेको संविधान फेल भइसकेको पनि दाबी गरे । कुनै न कुनै रुपमा देशमा मियो चाहिन्छ भन्ने कुरा जेनजी आन्दोलनको क्रममा देखिएको उनको तर्क थियो । सिंहदरबार जलिरहँदा एक किमी नजिकसम्म पनि दकमल जान नसक्नुले हामीले कस्तो व्यवस्था ( गणतन्त्र) ल्याएका रैछौं भन्ने प्रस्ट देखिएको तर्क पनि गरे ।
महामन्त्री राणाले जेनजी आन्दोलनको ४ दिनअघि पार्टीको लमजुङको कार्यक्रममा अब संघ र प्रदेश सरकारमा बसेकाहरु सरकार छोडेर आन्दोलन जानुपर्ने बताएको र आफ्नो कुरा सत्य सावित भएको जिकिर गरे । पोखरामा भएको अधिवेशनमा विभिन्न वडा प्रतिनिधि, कार्यकर्ता र सदस्यहरूको भिड देखिएको थियो । कार्यक्रममा पार्टीको आन्तरिक लडाईंको विषयमा समेत आवाज उठ्यो ।
महामन्त्री राणाले पार्टीको आन्तरिक लडाईंलाई लिएर बाहिर नकारात्मक सन्देश गएको हुँदा पार्टीभित्रका गल्तीलाई स्वीकार गर्दै, भएको समस्यालाई समाधान गर्दै मिलेर जानुको विकल्प नभएको बताए ।
अधिवेशनले संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे आन्तरिक कार्ययोजनाका विषयमा छलफल समेत गरेको छ । राप्रपा अझ झन् सशक्त रुपमा उठेर देशलाई लुटेर खाने दलकाविरुद्ध उभिनुपर्ने आवाज युवा नेता हरूबाट उठेको थियो । अबको लडाईं सामान्य नभएको तथा देश बेच्ने दलाल र देशलाई शिरमा राख्ने राष्ट्रवादी बीचको लडाई भएको केन्द्रीय सदस्य अर्जुन खनालले बताए ।
अधिवेशनमा उठेका राजनीतिक आवाज, नेतृत्वद्वारा व्यक्त जिम्मेवारी र युवा पुस्ताले प्रस्तुत गरेको राष्ट्रवादी प्रतिबद्धतासँगै राप्रपाले पोखराबाट संगठन सुदृढीकरणको नयाँ सुरुवात गरेको दाबी गरेको छ ।
राजासहितको सर्वदलीय सम्मेलनको माग
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन ‘सर्वदलीय सहमति’ अपरिहार्य भएको बताए ।
लिङ्देनले राप्रपाले राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार विपक्षीको भूमिका निर्वाह गर्ने बताए । देश अहिले गहिरो अनिश्चयमा रहेको हुँदा राजा, जेनजी समूह र राजनीतिक दलहरू एउटै टेबुलमा बसेर राष्ट्रको हितका लागि साझा मार्गचित्र बनाउनुपर्ने आवाज राप्रपा नेताहरूले चर्को रुपमा उठाए । अहिले गठन भएको अन्तरिम सरकारलाई चेतावनी दिँदै राजा, जेनजी समूह र सबै राजनीतिक दलहरूलाई समेटेर सर्वदलीय सम्मेलन आयोजना गर्न लिङ्देनले आग्रह गरे ।
राज्य शक्तिहरूबीच आपसी अविश्वास बढ्दै गएको र राजनीतिक नेतृत्वबाट समाधान आउने आशा कमजोर बन्दै गएको अवस्थामा राष्ट्रलाई स्थायित्व दिने एकमात्र उपाय सबै पक्ष बीचको खुला संवाद र सहमति रहेको उनको जिकिर थियो ।
।
देशको बदलिँदो राजनीतिक समीकरणबीच राप्रपाले प्रस्तुत गरेको ‘सर्वदलीय सहमति’को आग्रह कति प्रभावकारी हुन्छ भन्ने कुराले भने अबको राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने संकेतसमेत दिएको छ ।





