आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने

‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने

नगरपालिकाले वृद्वाश्रम संचालन गर्ने अनुकुल वातावरण नभएकाले मानवसेवा आश्रमको आवश्यकता र अनुरोध अनुसार तत्कालका लागि आश्रमलाई भवन सुम्पिन लागिएको नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको भनाई थियो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८२, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटमा निर्माण भएर पनि लामो समयदेखि अलपत्र परेको ‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने भएको छ ।

दुईअघि २ करोड २६ लाख रुपैयाँ लागतमा बागलुङ नगरपालिकाले निर्माण गरेको वृद्धाश्रम मानवसेवा आश्रम बागलुङले चलाउने भएको हो । परिवारको अपहेलना तथा सहाराविहिन मानवहरुलाई आश्रय दिने उदेश्यले २०७८ सालमा नगरपालिकाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत वृद्वाश्रमको लागि भवन निर्माण गरेको थियो ।

परिवारबाट अपहेलित जेष्ठ नागरिक र असक्तलाई सम्मानपुर्वक मर्यादित र सहज जीवनयापन गर्न सहज होस् भन्ने उदेश्यले वृद्धाश्रमका लागि भवन निर्माण गरिएको हो । निरयघाटस्थित जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा निर्मित वृद्वाश्रममा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा र डाइनिङसहित १४ कोठा छन् ।

मानवसेवा आश्रममा क्षमताभन्दा बढी सहयोगापेक्षी भएकाले नगरपालिकाको अनुमतिमा वृद्धाश्रम पनि मानवसेवा आश्रमले सञ्चालन गर्ने तयारी गरेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । आश्रमले निरयघाटमै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । आर्थिक अभावका कारण भवन समयमै सम्पन्न हुन नसकेपछि आश्रमले अहिले ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरेर दान संकलन गरिरहेको छ ।

नगरपालिकाले वृद्वाश्रम संचालन गर्ने अनुकुल वातावरण नभएकाले मानवसेवा आश्रमको आवश्यकता र अनुरोध अनुसार तत्कालका लागि आश्रमलाई भवन सुम्पिन लागिएको नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको भनाई थियो । निर्माण भएको लामो समय बितिसक्दा पनि प्रयोग नहुँदा जीर्ण बन्न लागेको वृद्वाश्रमको भवन आश्रमले सदुपयोग गर्दा सहयोगापेक्षीलाई राहत हुनुका साथै भवनको संरक्षण हुने खड्काले बताए ।

भवन निर्माण भएको लामो समयसम्म पनि कोही जेष्ठ नागरिक सम्पर्कमा नआउनु र मानवसेवा आश्रममा क्षमताभन्दा बढी असहाय,गरीब र सहाराविहिन आश्रित भएकाले वृद्धाश्रम मानवसेवाका लागि प्रयोगमा ल्याउन लागिएको खड्को भनाई थियो ।‘वृद्वाश्रमको भवन प्रयोगमा आएसंगै घरमा बस्ने वातावरण नभएका, हेला–होचामा परेका र बेसहाराले संरक्षणसँगै खुसी जीवनयापन गर्न पाउने छन्,’ उपप्रमुख खड्काले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->