म्याग्दी/जिल्लाको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज बुधबार बिहानैदेखि बालाचतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका थिए ।
भक्तजनहरूलाई सहज रुपमा पूजा आराधना गर्ने वातावरण बनाउनका लागि लाइनमा बसेर पालैपालो पूजा गर्ने व्यवस्था मिलाइएको थियो । भक्तजनलाई नेपाल प्रहरी, स्थानीय संघंसंस्था विद्यार्थी लगायत विभिन्न संघसंस्थाका स्वयंमसेवकहरुले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन् । अनुकूल मौसमका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौँ लगायतका जिल्लाबाट बिहानैदेखि श्रद्धालु भक्तजन आएको रेग्मीले जानकारी दिए । करिब ३० हजारभन्दा बढी भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । यसपटक गलेश्वर मन्दिरमा कर्णाली प्रदेशबाट समेत समुहमा दर्शनका लागि भक्तजनहरु आएका छन् ।

भक्तजनलाई मन्दिरका महत्वपूर्ण स्थानमा जडान गरिएका एक दर्जनभन्दा बढी सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिएको थियो । शिवरात्रीका दिन शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो, र बेलपत्र चढाउने गरिन्छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै सत बीज छर्ने चलन छ ।
हजारौँ भक्तजन भएपनि मन्दिरमा पूजाआजा र सुरक्षा रहेको, भिडभाडमा चोरी हुने जोखिमले स्वयंसेवक परिचालन गरिएकाले सजिलै पूजा गरी फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल गलेश्वर यूनिटले कालिगण्डकी नदी क्षेत्रमा स्नान गर्ने क्रममा जोखिमलाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन गरेको छ ।
बाला चतुर्दशीमा सत बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । शत बीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै शत बीज छर्ने चलन छ ।

बाला चतुर्दशीमा एक गेडा शत बीज छरे पनि एक टुक्रा सुन दान गरे जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दै पाशुपत क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ ।
द्वापर युगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सत बीज छर्नका लागि हजारौँ भक्तजन आउँछन् । गलेश्वरमा रातभरी भजनकीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहानै काली गण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीप दानसहित शत बीज छर्ने प्रचलन रहेको छ ।
काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । गलेश्वर मन्दिरमा काल गण्डकी नदीबाट जल लिएर स्नान गर्ने सुविधाले समेत भक्तजनलाई सहज भएको छ ।





