तस्बिर सौजन्य : देवीराम घिमिरे
बागलुङ/असला माछाको खानीको रुपमा चिनिने दरमखोलामा जलचरको अस्तित्व संकटमा पर्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले ताराखोला र दरमखोलाको दोहन रोक्न माग पनि गरेका छन् । जलचरको अस्तित्व जोगाउन नसके मानव अस्तित्व पनि खतरामा पर्ने उनीहरुको भनाइ छ ।
विशेषगरी ताराखोलामा आधादर्जन जलविद्युत आयोजनाहरु बन्दै गरेको र केही बनिसकेकोले खोलाको पानी टनेलमा हिंड्ने अवस्था बनिसकेको छ । यो अवस्थामा जलचरको जीवनमै असर पर्ने खतरा पनि उनीहरुले औल्याएका छन् । असलाको लागि प्रख्यात ताराखोला र दरमखोला संकटमा पर्दा असलाको पहिचान पनि मेटिने खतरा बढेको बताइएको छ । त्यसमाथी पछिल्लो समय खोलामा जथाभावी ढुंगा, गिट्टी र बालुवाको दोहनले त बाँकी रहेको संभावना पनि अन्त्य गरिदिएको स्थानीय पुर्ण श्रीषले बताए ।
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको ध्यानाकर्षण गरिरहेका युवाले प्रेस विज्ञप्ती प्रकाशित गरेर समयमा ध्यान नदिएमा पानीको श्रोत समाप्त हुने, पर्यावरणमा नकारात्मक असर पर्ने, जलचरको जीवन संकटमा पर्ने तथा कृषि प्रणाली र मानव जीवनमा असर पर्ने चेतावनी पनि दिएका छन् । ताराखोला जलश्रोतको धनी क्षेत्र हो । यहाँ कृषिको संभावना बढी छ । अहिलेसम्म कृषि क्षेत्रबाटै ताराखोलाले आफ्नो पहिचान बनाइरहेको छ ।
पछिल्लो समय मानवअधिकारसँग सम्बधित संस्थाले पनि जलवायु परिवर्तनको असरबारे बढी आवाज उठाउने गरेका छन् । एउटै खोलामा धेरै जलविद्युत आयोजना बनाउने कामदेखि विद्युतीय करेन्ट प्रवाह गरेर माछा मार्ने कामलाई पनि जोखिमको मानेका छन् । करेन्ट लगाएर माछा मार्न खोज्दा मानिसको पनि ज्यान जाने गरेको घटनाहरु धेरै छन् । त्यसबाहेक करेन्ट लागेर चाहिनेभन्दा बढी माछा मर्ने, त्यतिमात्र होइन माछासँगै खोला र पानीको श्रोतमा हुने सबै जलचरको जीवन संकटमा पर्ने गरेको हो ।
पछिल्लो समय त निर्माण भैसकेका र निर्माणाधिन जलविद्युत कम्पनीहरुले खोलामा पसेर डोजर चलाउने गरेका छन् । जसका कारण खोलाको संरचना पनि खलबलिएको छ । हरेक वर्ष पानीको श्रोत घटेको अवस्था छ भने यहाँ अत्याधिक वर्षात भएको बेला सोचेभन्दा बढी बाढी पहिरो आएर किनार क्षेत्रका बस्तीमा असर परेको छ । गलकोटदेखि ताराखोलासम्म खोला छेउका कतिपय बस्तीमा घर जोखिममा परेका छन् । विज्ञप्तीमार्फत स्थानीय युवाहरुले खोलामाथी भैरहेको दोहन रोक्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् । त्यस बाहेक सरोकारवाला निकायले पनि उचित कदम चाल्नुपर्ने उल्लेख छ ।
कानून अनुसार खोलामा जलविद्युत उत्पादन गर्दा कुल पानीको १० प्रतिशत छाड्नुपर्नेमा सुख्खा बनाएकोले जलचरहरु नष्ट भैरहेको स्थानीय डिलबादुर बस्नेतले बताए । ‘वर्षातमा खोलाले बगाउने झै बन्छ, हिउँदमा कमिला हिंड्ने बनाइएको छ’ उनले भने, ‘यो असमान अवस्थाले जलचरको जीवन संकटमा परेको हो ।’ स्थानीयको जीवनमा पनि यसले असर परेको उनले बताए ।
शुरुवातमा सयपत्री जलविद्युत आयोजना निर्माण भएको ताराखोलामा अहिले ५ वटा थपिएका छन् । जलविद्युत ऐनको दफा २७ ले जलश्रोत संरक्षण, सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने प्रावधानलाई कसैले पनि वास्ता नगरेको अभियानकर्मी दिल निशानी मगरले बताए । स्थानीय तारा थापा, जीवन केसी, प्रकाश रोका मगर, जीवन गौचन, बाबुराम सापकोटा, हरि मगर, राजकुमार सुवेदी, रामु सापकोटालगायतका युवाले सामूहिक रुपमा संरक्षणको अभियानलाई अगाडि बढाउने समेत बताएका छन् ।
स्थानीय पालिकाले समयमा सोच नगरेमा आगामी दिनमा ताराखोला र दरमखोलाको अस्तित्व जोगाउन युवाहरु आक्रोसित भएर लाग्ने उनीहरुले चेतावनी पनि दिएका छन् । गलकोट नगरपालिकाले जलचर संरक्षण नीति ल्याएर जथाभावी माछा मार्ने काम नियमन गरेको छ । अबैध रुपमा चल्ने क्रसर तथा एस्काभेटरको नियन्त्रण भने गर्न सकेको छैन ।





