बागलुङ/नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भैरहेको बताएका छन् । उनले धौलागिरि प्रादेशिक अस्पताल बागलुङको अवलोकन भ्रमणको क्रममा आमा र शिशुको स्वास्थ्यको क्षेत्रमा परिवर्तनहरु देखा परेको बताए ।
बिहिबार अस्पतालमा आएका राजदुत थम्पसन सहितको टोलीले अस्पतालको मातृशिशु तथा नवजात स्वास्थ्य सेवाको गुणस्तरबारे चासो लिएका थिए । भ्रमण दलमा जेनक्रिल थम्पसन, दक्षिण एशियाका लागि क्षेत्रीय वातावरण अधिकृत प्याट्रिक एस गान, वरिष्ठ परियोजना व्यवस्थापनक नुर पन्त, वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ इभाना लाहोर, अमेरिकी दुतावासका इमिला र नेपालका कन्ट्री डाइरेक्टर भगवान श्रेष्ठ सहभागि थिए ।
टोलीलाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले स्वागत गर्दै अस्पतालमा भएको सुधारबारे जानकारी गराएका थिए । युएसएडको सहयोगमा बागलुङमा संचालित पिपिएच, लेवर कियर गाइड, स्मल एण्ड सिट न्युवर्न प्याकेज, एनपिडिएसआर जस्ता तालिम कार्यक्रमले पनि आमा र शिशुको स्वास्थ्य क्षेत्रमा सुधार आएको जानकारी गराइएको थियो । पछिल्लो समय नेपालमा युएसएडको अनुदान बन्द भएको छ । तर, उक्त अनुदानले स्वास्थ्य सुधारको क्षेत्रमा पुगेको योगदानलाई राजदुत थम्पसनले प्रशंसा गर्दै आगामी दिनमा पनि यो सहयोग ल्याउन पहल गर्ने प्रतिवद्वता जनाएका थिए ।
समग्र स्वास्थ्य क्षेत्रमा सहयोग आउन छाडेपछि दुतावासमार्फत आमा र बच्चाको स्वास्थ्य सुधारका लागि आयोजित स्वास्थ्यकर्मीको तालिममा दुतावासले सहयोग गरेको थियो । यस्ता सहयोगलाई अझै बढाएर मातृशिशु क्षेत्रमा सुधार गर्न सकिन्छ भनेर राजदुत सहितका टोली सहमत भएको अस्पतालका प्रमुख डा. तिवारीले बताए ।
राजदुत थम्पसनसहितको टोलीले अस्पतालको तालिम हल, सेवाका अन्य विभाग पनि अवलोकन गरेको थियो । अस्पतालको हालका कार्यक्रमबारे अस्पतालका नर्सिङ प्रशासक शान्ति पौडेल र नर्सिङ अधिकृत अजिता सिलवालले जानकारी गराएका थिए ।





