बागलुङ (खर्वाङ)/पछिल्लो समय देशमा सिर्जित अवस्थाले अब जनताको पक्षमा काम गर्ने नेतृत्व मात्रै देशले खोजेको गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले बताएका छन ।
शुक्रबार पौंदी न्वागी मेलाको उद्घाटन गदै शेरचनले नागरिकले सोचेजस्तो विकास एकै पटक सम्भव नभएको भन्दै परिवर्तनको लागि समय लाग्ने तर नेपालमा विकासको गति भने बढ्न नसकेको स्वीकार गरे ।
संघियतापछि बाँडिएका भूगोलले निम्ल्याएका समस्यामा पुर्नविचार गर्न आवश्यक रहेको भन्दै उनले विकास खर्च बढाउनु नै अहिलेको मुख्य आवश्यक्ता रहेको बताए । टुक्रे योजना अबको बजेटमा समावेश गर्न नहुने तर्क राख्दै शेरचनले सबै क्षेत्रमा भष्ट्राचार व्याप्त रहेकोले आ–आफ्नो क्षेत्रका बेतिथी हटाउन सबै लाग्नुपर्ने बताए ।
उनले सकारात्मक कार्य गर्दै जनतामा आशा जगाउन आवश्यक रहेको भन्दै गाउँका योजना आवश्कताको विषयमा संसदमा उठाएका विषयमा पनि अहिलेको पुस्ताले ध्यान दिनुपर्ने सुनाए । उनले आधुनिकतासंगै मेलाको स्वरुप परिवर्तन भएकोले मौलिकता भुल्न नहुने पनि बताए ।
यस्तै गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले पुर्खाको इतिहासलाई जोगाउँदै कला संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताईन् । उनले मेला संरक्षण र विकासमा सबै एकजुट हुनुपर्ने भन्दै कृषि उत्पादनमा जोड दिनुपर्ने बताईन् । बडिगाड गाँउपालिका ५ खारमा गत मंसिर १ गतेबाट न्वागी मेला चलिरहेको छ ।





