काठमाडौं / नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध रहेको बताए। ‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन। हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं,’ उनले भने, ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु-यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौँ।’
नेताको घर घेर्न लोकेसन ट्र्याक गरिएको र त्यसै गरी उनीहरूको लोकेसन पनि आफूहरूले हेरेर बसेको बताए। ‘जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं। हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं,’ उनले भने,’ठाउँ ठाउँमा हाम्रो कार्यक्रममा, हाम्रो नेताहरू गएका ठाउँमा रोक्ने काम गरेका छन्। डिस्टर्ब गर्ने काम गरेका छन्। अस्ति भर्खर सिमरा एयरपोर्टमा पाँच दश जना जेनजीको नामबाट झुण्ड परिचालित भएको थियो। त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आयो भने हामीले घर घर, जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं।’
अपहरण र ज्यान मार्ने उद्योगका कसुरदार श्रेष्ठलाई कमाण्डर बनाएकोमा विरोध, उनी वाईसीएलबाट एमालेमा आएका थिए
नेकपा एमालेले ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मका मुद्दा खेपेका व्यक्तिलाई नेसनल भोलेन्टियर्स फोर्सको कमान्डर बनाएको भन्दै विरोध भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-५ का ४३ वर्षीय पुष्पराज श्रेष्ठलाई एमालेले शुक्रबार घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्सको कमान्डर तोकेको हो ।
श्रेष्ठ तत्कालीन माओवादीको भातृ संगठन वाईसीएलका सिन्धुली जिल्ला अध्यक्ष पनि हुन्। एमालेमा प्रवेश गरेर युवा संघमा काम गरिरहेका श्रेष्ठले शुक्रबार नयाँ संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाए।
उनले २०६३ सालदेखि २०७५ सालसम्म वाईसीएलमा हुँदा ७ वटा मुद्दा खेपेका थिए। ती मध्ये चार वटा मुद्दा ज्यान मार्ने उद्योगका छन्। प्रहरीको अभिलेख अनुसार २०६३ सालमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।
सिन्धुलीको कमलामाई नगरपालिकाका गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप श्रेष्ठमाथि थियो। २०६४ सालमा पनि उनले कमलामाइकै विजय मुनालमाथि हतियार प्रहार गरी घाइते बनाएका थिए। २०६५ सालमा पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यतिबेला भने काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरका अविनास रिजाललाई गोली प्रहार गरेको आरोपमा पनि प्रहरीले पक्राउ गरेको थियो। २०६७ सालमा सिन्धुलीकै राजन घिसिङमाथि कुटपटि गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला उनलाई अभद्र व्यवहारको आरोपमा मुद्दा चलाइएको थियो।

२०७० सालमा भने उनी अपहरणमा संलग्न रहेको आरोप छ। सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुली जिल्ला अदालतबाट मुद्दा चलाइएको थियो।
२०७३ सालमा गणेश कुँवरलाई बन्धक बनाएर रकम लुटेको आरोप पनि उनीमाथि लागेको थियो। कुँवरलाई साथीको डेरामा लगेर बन्धक बनाएको र ५० हजार रुपैयाँ, औँठी, मोबाइल लगेको, साथीको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको आरोप पनि उनीमाथि छ।
२०७५ सालमा पनि उनी पक्राउ परेका थिए। २०७५ भदौमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई धाकधम्कीको आरोपमा पक्राउ गरेको थियो। उनले रामबहादुर कट्वाललाई धाकधम्की दिएको आरोप छ। कट्वाललाई घर निर्माणको जिम्मा दिएकोमा रकम माग्दा उल्टै धम्की दिएको र रकम नदिएको आरोप उनीमाथि छ।
२०७५ सालमा माओवादी र एमाले मिलेर नेकपा बनेको थियो। त्यसपछि उनी माओवादीतिर फर्किएनन् र एमालेमै बसे। एमाले उनले युवा संघमा जिम्मेवारी पाएका थिए। उनलाई इन्चार्ज घोषणा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेसनल भोलेन्टिएर फोर्स हिंसा र अराजकताविरुद्ध गठन भएको बताएका छन्। राज्यले जनता, उद्योगधन्दा, सञ्चारगृहको सुरक्षा गर्न नसकेकाले अब यो दस्ताले गर्ने बताए। तर जसलाई यसको कमान्डर बनाए उनी भने बिगतमा आफैँ आपराधिक धन्दामा संलग्न रहेको प्रहरी अभिलेखबाट पुष्टि भएको छ।





