सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखरा अझै जितविहीन, सुदूरपश्चिमको लगातार दोस्रो जित

पोखरा अझै जितविहीन, सुदूरपश्चिमको लगातार दोस्रो जित

पोखराका कप्तान तथा मार्की कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोहोर्‍र्याउन सकेनन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो ।

पोखराका कप्तान तथा मार्की कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोहोर्‍र्याउन सकेनन् । उनले ३२ बलमा चार चौका र चार छक्कासहित ५३ रन बनाए । १५।३ ओभरमा ५० रन पूरा गरेका भुर्तेल लगत्तै अर्को बलमा बोल्ड भए । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिनले बोल्ड गरे ।

जारी प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । भुर्तेलले यसअघि विराटनगर किंग्सविरुद्ध ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । भुर्तेल जारी सिजन लगातार दोस्रो अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि चितवन राइनोजका रवि बोपाराले दुई खेलमा लगातार अर्धशतक बनाएका थिए ।

दोस्रो इनिङको आठौँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले जीवनदान पाए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरको पहिलो बलमा भुर्तेल आठ रनमा हुँदा जस ब्रोनले क्याच छुटाएका थिए ।

यसबाहेक, जिम्मी निसमले आक्रामक ब्याटिङ गर्दै २५ बलमा दुई चौका र पाँच छक्कासहित ४७ रन बनाए । निसम र कुशलले ३०-३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति ७५ रनको साझेदारी गर्दै पोखराको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ११।३ ओभरमा जिम्मी निसमलाई सुदूरपश्चिमका कप्तान ऐरीले बोल्ड गरेपछि पोखराको लयमा ‘ब्रेक’ लाग्यो ।

यी दुईबाहेक, अन्तिममा डान डाउथवेटले १६ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाए । अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरपश्चिमका हर्मित सिंहले दुई विकेट लिए । यस्तै, स्कट कुग्गेलिन, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए ।

पहिलो इनिङमा जस ब्रोनको अर्धशतक

टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका ओपनर जस ब्रोनले सर्वाधिक ६५ रन बनाए । उनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । ब्रोनले पहिलो विकेटका निम्ति अर्का ओपनर विनोद भण्डारीसँग १०।४ ओभरमा १०८ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

जारी एनपीएलमा पहिलो विकेटका निम्ति बनेको यो नै सबैभन्दा ठूलो शतक हो । ब्रोन र विनोदले यसअघि काठमाण्डूका आकाश त्रिपाठी र बेन चाल्र्सवर्थको नाममा रहेको ७० रनको साझेदारीको कीर्तिमान तोडेका हुन् । यस्तै, प्रतियोगिताको यो दोस्रो शतकीय साझेदारीसमेत हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध नै दोस्रो विकेटका निम्त १३२ रनको शतकीय साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन थपे । यसअघि पहिलो खेलमा यी दुवै ओपनर ‘डक’ भएका थिए ।

यस्तै, अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिनले १३ बलमा चार चौका र दुई छक्कासहित ३१ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा एक चौका र एक छक्कासहित १५ रन बनाए । यसअघि काठमाण्डू गोर्खाजविरुद्ध ५३ रन बनाउँदै ‘प्लेयर अफ दी म्याच’ चुनिएका हर्मित सिंह आज भने चार रनमात्र बनाएर पभेलियन फर्किए । स्कट कुग्गेलिनले ६ बलमा एक छक्कासहित आठ रन बनाए । आरिफ सेख ‘डक’ भए । इशान पाण्डे ६ र नरेन साउद चार रनमा अविजित रहे ।

पोखराका जिम्मी निसमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका निसमले ४७ रन खर्चिए । डान डाउथवेट र आकाश चन्दले समान दुई विकेट लिए ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

यता, लगातार दुई हार बेहोरेको पोखरा भने तालिकाको पुछारमा छ । पोखराले यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो ।

प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्ससँग र दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->