बागलुङ / ३४ औं अन्तराष्ट्रिय अपांग दिवस बुधवार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसका अबसरमा प्रभातफेरी, प्रवचन, सहयोग सामाग्री बितरण, सम्मान तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको हो ।
बागलुङ नगरपालिकाको आयोजनामा बुधवार अपांग सरोकार संघ, नेत्रहिन संघ, बागलुङ बहिरा संघ, बौद्दिक अपांगता भएका व्यक्तिको अभिभावक संघ, शारिरीक अपा.गता संघ समेतको सहकार्य तथा सामाजिक बिकास एकीकृत सेवा कार्यालयको सहयोगमा मुल समारोह आयोजना गरिएको थियो । अपांगता भएका नागरिकहरु, जिल्ला समन्वय समिति, बागलुङ नगरपालिका, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र साझेदार निकायहरुले कार्यक्रममा भाग लिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले अपांगहरुको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पहुँच बढाउन सकेमा समाजमा समानताको वातावरण बन्ने बताए । उनले त्यसकालागि सबै क्षेत्रले समान रुपमा सहकार्य गर्ने र अपांगलाई सम्मान जनक रुपमा सेवा प्रवाह र अधिकार प्राप्तीकालागि सहयोग गर्नुपर्ने बताए । अधिकार खोज्दा अपांगता भएका नागरिकले आत्मनिर्भर बन्ने क्रियकलाप पनि जोड्नुपर्ने बताए ।
कार्यक्रममा नगरउपप्रमुख राजु खड्काले अपांगता भएका नागरिकको तथ्यांक संकलनको काम भएको र त्यसले आगामी नीति कार्यक्रम र योजना निर्माणमा सहज वातावरण बन्ने बताए । उनले नगरपालिका सबैको अभिभावक बन्ने प्रयासमा रहेको बताए ।
नगर उपप्रमुख तथा अपांग समन्वय समितिका प्रमुख राजु खड्काको अध्यक्षता, नगरपालिकाकै महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यको संचालन र सम्पन्न कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रतिनिधि भविलाल शर्मा, बागलुङ नेत्रहित संघका अध्यक्ष कुमार पुन, बागलुङ बहिरा संघका सचिव बासु थकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अपांगता क्षेत्रमा योगदान गरेको भन्दै धौलागिरि बहिरा बिद्यालय, रामरेखा आधारभुत बिद्यालय, जनताधन माबि बलेवा र उपल्लाचौर स्थित बौद्दिक अपांगता भएका बिद्यालय पढ्ने बागलुङ बिशेष बाल बिद्यालयलाई सम्मान गरियो ।
यसैबीच नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले जैमिनी नगरपालिकामा रहेका अपांगलाई सहायता सामाग्री बितरण गरेको छ । उनीहरुको शाररीक अपांगताको आधारमा माग भएका सामाग्री खरिद गरी बितरण गरिएको हो ।
त्यस बाहेक जैमिनीमै पछाडि पारिएका समुदायको अधिकार बारे अन्तरक्रिया, स्थानीय स्वास्थ्य चौकीले दिने सेवा र न्युनतम सूचक बारे सरोकारवालासँग अन्तरक्रिया र नगरपालिका र कार्यपालिका सदस्यसँग समेत अपांगताको क्षेत्रमा गर्न सकिने काम बारे अन्तरक्रिया भएको फाउण्डेसनका बिष्णु सुवेदीले जानकारी दिए ।





