बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमाले जिल्ला कमिटी बागलुङले तीन र क्षेत्र नं. २ बाट एक जनालाई उम्मेदवार सिफारिस गरेको छ ।
एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ को बैठकले गठन गरेको कार्यदलले खुल्लातर्फ इन्द्रलाल सापकोटा र जिल्ला अध्यक्ष हिराबहादुर केसी तथा महिलातर्फ केन्द्रीय सदस्य मनकुमारी केसी जिसीलाई उमेदवार सिफारिस गरेको छ ।
क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धनबहादुर परियारका अनुसार, बैठकमा आठ जनाले उमेदवार दाबी गरेपनि छलफलपछि तीन जनाको नाम छनौट गरिएको हो । उमेदवारका लागि एमाले केन्द्रीय सदस्यहरु मनकुमारी केसी, डा.सूर्य पाठक, इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व जिल्ला श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्य गिता शर्मा र सञ्जय कुमार श्रेष्ठ तथा बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले दाबी गरेका थिए ।
यस्तै, बागलुङ क्षेत्र नं. २ बाट नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. २ को बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको एमाले जिल्ला उपाध्यक्ष विष्णु भुषालले जानकारी दिए । बैठकमा देवी प्रकाश भट्टचन, देव कुमार नेपाली, भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल र तिलक उप्रेती, याम बहादुर श्रीस, लक्ष्मण पुन, अमरसिंह घर्ति, युवराज महत, दलबिर भण्डारी, इश्वर बोहोराले उमेदवारका लागि दावी गरेका थिए ।





