मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

लाउँलाउँ खाउँखाउँ उमेरकालाई कसरी बचाउने ?

लाउँलाउँ खाउँखाउँ उमेरकालाई कसरी बचाउने ?

गरिबीमा चेपिएका मानिसहरूले घरमा कोही नभएको समय बिहान वा दिउँसो नै आत्महत्या गर्ने गरेका छन् भने परिवारबाट असहयोग तथा नियमित मानसिक तनावका कारण वृद्धवृद्धाले पनि आत्महत्या राजेको देखिन्छ ।


  • हरिकृष्ण गौतम
  • पुष २१ २०८२, सोमबार

म्याग्दी/जिल्लामा पछिल्लो एक दशकमा साढे २ सय जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको सार्वजनिक गरेको तथ्याङ्क हेर्दा एक वर्ष मात्र घटेको र बाँकी ९ वर्ष बढेको तथ्याङ्क हेर्दा ’भयावह अवस्था’ देखिन्छ । झुण्डिएर, विष खाएर, पानी तथा भीरबाट हाम फालेर सहित विभिन्न कारणले आत्महत्या गरेकामा आर्थिक बर्ष २०७५/०७६ मा १२ जना र आव ०८०/८१ मा १९ रहेकोबाहेक बाँकी ८ वर्षको तथ्याङ्कले म्याग्दीमा आत्महत्या डरलाग्दो सामाजिक समस्या बनेको प्रष्ट हुन्छ । चालु आव ०८२/८३ को हालसम्म ८ जनाले भुण्डिएर र खोलामा हाम फालेर आफ्नो ज्यान लिएकोमा ७ जना पुरूष, १ महिला रहेकोमा सबैभन्दा धेरै बेनी नगरपालिकामा ४ जना, मंगला, मालिका, धवलागिरी, रघुगंगामा बाँकी ४ जना रहेकोमा १८–४५ उमेर समुहका ७ र ४५ बर्षमाथिका देखि १ जना महिला रहेको देखिन्छ ।

एक दशकको तथ्याङ्कका आधारमा म्याग्दी जिल्लाभित्र बर्षेनी १५ जनाभन्दा बढी मानिसहरूले आत्महत्या गर्ने गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नो मृत्यु रोज्ने प्रकृति हेर्दा अधिकांशले घरभित्र, बनजंगल तथा सार्वजनिक स्थानमा झुण्डिएर आत्महत्याको बाटो रोज्न गरेको देखिन्छ । एक दशकको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेहरूको सुचीमा पुरूष १ सय ५९ जना, महिला ९१ जना रहेका छन् । आत्महत्या गर्ने उमेर समूहमा रोजगारका लागि उपययुक्त उमेर समूह मानिने १८ देखि ४५ वर्र्षभित्रका धेरै देखिन्छन् । पारिवारिक जिम्मेवारी, शिक्षादीक्षा सहित व्यावसायिक क्षेत्रमा संलग्न, बैदेशिक रोजगारी तथा अन्य पेशा व्यवसायमा संलग्न १८–४५ वर्षका १ सय ३५ जना, ४५ वर्षभन्दा माथिका ७४ जना, १८ वर्ष मुनिका ३७ जना र उमेर नखुलेका ४ जनाले एकदशकको अवधिमा संसार त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गरिबी, पारिवारिक तनाव, घरेलु हिंसा, मानसिक असन्तुलन, दीर्घरोग लगायतका कारणले मानिसहरूले आत्महत्या रोज्ने गरेको पाइएको छ ।

आत्महत्या गर्नेहरूमध्ये झुन्डिएर ज्यान फाल्नेमा क्षणिक रिसका कारणसमेत रहेकाले सामाजिक सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने प्रनाउ थापाको भनाई छ । ‘म्याग्दीमा आत्महत्या डरलाग्दो समस्या बनेको छ,न्यूनीकरणका अभियान प्रहरी एक्लैले गरेर सम्भव छैन, सबै संघसंस्थामार्फत् सचेतनामुलक अभियानमा जोडिनुपर्छ,’ प्रनाउ थापाले भने । जिल्ला प्रहरी कार्यालय म्याग्दीले समुदायमा प्रहरी कार्यक्रम अन्तरगत आत्महत्या न्यूनिकरणका अभियानलाई प्राथमिकता दिने गरेको छ । १८ वर्ष उमेर समुहभन्दा तलका बालबालिका, किशोरकिशोरीले आत्महत्याको बाटो रोज्नु झनै भयानक भएको भन्दै विद्यालयदेखि समुदायसम्म एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए । गैसस महासंघका अध्यक्ष पौडेलले आत्महत्याको प्रकार, कुन समयमा आत्महत्या बढी हुन्छ, कुन बार बढीले आत्महत्या रोज्छन्, कुन महिना र कुन उमेरमा आत्महत्या भएको बारेमा समेत अध्ययन गर्न सकिने बताए ।

विवाह गरेको वा नगरेकाले किन आत्महत्या रोज्छन् भन्ने विषयमा अध्ययन गरी न्यूनिकरणका अभियान सञ्चालन गर्नुपर्ने बताए । साथै कुन जातजातिमध्ये लैंगिक समूहमा आत्महत्या बढी रोजिएको छ भन्ने जानकारी हुन सकेमा समुदायस्तरमा समेत अभियानले सघाउने अध्यक्ष पौडेलको भनाइ छ । आत्महत्या गर्नेहरूको संख्या दिनानुदिन वृद्धि हुनुले मानिसहरूमा नैरास्यता, गरिबी, मानसिक असन्तुलन, पारिवारिक तनाब बढेको प्रहरीको अनुसन्धानमा देखिन्छ । मदिरा सेवन, डिप्रेशन,पारिवारिक तनाव र गरिबी आत्महत्याका मुख्य कारण मानिएको प्रहरीको अनुसन्धानमा देखिन्छ । म्याग्दीमा आत्महत्या बिहान ६ बजेदेखि १२ बजे र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म आत्महत्याका घटना बढी भएका छन् । गरिबीमा चेपिएका मानिसहरूले घरमा कोही नभएको समय बिहान वा दिउँसो नै आत्महत्या गर्ने गरेका छन् भने परिवारबाट असहयोग तथा नियमित मानसिक तनावका कारण वृद्धवृद्धाले पनि आत्महत्या राजेको देखिन्छ ।

सबैभन्दा धेरै बेनी नगरपालिकामा
म्याग्दीमा एकदशकको अवधिमा सबैभन्दा धेरै आत्महत्या गर्नेमा बेनी नगरपालिका देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा बेनपामा १ सय १२ जना,मंगला गाउँपालिका ४४, रघुगंगा गाउँपालिका ३७, अन्नपूर्ण गाउँपालिका २१,मालिका गाउँपालिका २० र धवलागिरी गाउँपालिका १५ रहेका छन् । जसमा सबैभन्दा बढी १८–४५ वर्ष उमेर समूहका रहेको देखिन्छ । स्थानीय तहगत रूपमा हेर्दा बेनी नगरपालिका आत्महत्याको उच्च जोखिम क्षेत्र (हटस्पट)का रूपमा देखिएको छ ।म्याग्दीमा आत्महत्यालाई मानसिक स्वास्थ्य, पारिवारिक समस्या, आर्थिक तनाव, बेरोजगारी र सामाजिक दबाबसँग जोडिएको गम्भीर सामाजिक समस्याका रूपमा लिनुपर्ने म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुबेदीले बताए ।

आत्महत्या न्यूनीकरणका लागि समुदायस्तरीय परामर्श सेवा, विद्यालय तथा कलेज तहमा मानसिक स्वास्थ्य शिक्षा, जनचेतना र जोखिम समूहको समयमै पहिचान आवश्यक रहेको क्याम्पस प्रमुख सुबेदीको भनाइ छ । व्यक्तिमा नकरात्मक सोचको विकास हुदा आत्महत्या हुने गरेकोले त्यसलाई न्यूनिकरण गर्न प्रत्येक नागरिकलाई मनोपरामर्श आवश्यक रहेको बताए । आत्महत्या हुनुको मुख्य कारण डिप्रेसन रहेको भन्दै त्यसबाट जोगाउन प्रत्येक टोलको नागरिकसम्म मनोविमर्श गर्नु आवस्यक रहेको क्याम्पस प्रमुख सुबेदीको भनाई छ । आत्महत्या समस्या समाधान गर्ने माध्यम नभइ अरुलाई दुःख दिने एक पाटो रहेकोले सम्बन्धित व्यक्तिको सबै कुरा सुनेर सही बाटोमा ल्याउन पहल गर्नुपर्ने जानकारहरु बताउँछन् । नेपालमा विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्षको सेप्टेम्बर १० तारिखको दिन मनाउने गरिएको छ ।

एकदशकको आत्महत्याको अवस्था
आव २०७२/०७३ मा २४ जना
आव.२०७३/०७४ मा २१ जना
आव.२०७३/७५ मा २४ जना ।
आव २०७५/७६मा १२ जना
आव २०७६/०७७ मा२१ जना
आव २०७७/०७८ मा ३० जना
आव २०७८/०७९ मा ३० जना
आव २०७९/०८० मा ३५ जना
आव २०८०/०८१ मा १९ जना
आव २०८१/०८२ मा २५ जना
चालु आव २०८२/०८३ हालसम्म ९ जना

आव २०७२/०८३ को हालसम्म
आत्महत्या सम्बन्धी विवरण कुल जम्मा २५०
पुरुष १५९ र महिला ९१

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->