आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एफएनजे बागलुङले रजत जयन्तीसहित मिडिया मेला गर्ने

एफएनजे बागलुङले रजत जयन्तीसहित मिडिया मेला गर्ने


  • ढाेरपाटन संवाददाता
  • पुष २१ २०८२, सोमबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैतमा मिडिया मेला आयोजना गर्ने भएको छ । महासंघले आगामी चैत २० र २१ ग्ते मिडिया मेला गर्ने तयारी थालेको अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए ।

मेलालाई प्रभावकारी र लाभदायी बनाउन नविन सोच र उद्देश्यका साथ काम थालिएको थापाको भनाइ छ । महासंघले मेलाको कार्यविधि र गतिविधि तयारी गरिरहेको छ । प्रारम्भिक रुपमा प्रवचन कार्यक्रम, प्यानल डिस्कसन, बागलुङको पत्रकारिता र पत्रकारिताका विभिन्न आयाम, स्थानीय विकास र पर्यटनजस्ता विषय समावेश हुनेछन् ।

यो वर्ष महासंघको स्थापनाको रजत वर्ष पनि हो । तसर्थ रजत वर्षको अवसरमा ऐतिहासिक पुस्तक प्रकाशन गर्ने लक्ष्य पनि राखिएको छ । प्रकाशित पुस्तक विमोचन पनि सोही समयमा हुनेछ । बागलुङमा जन्मेर देशका विभिन्न स्थानमा रहेका पत्रकारहरुको पुर्नमिलन कार्यक्रम गर्ने ‘मिट एण्ड ग्रिट’, त्यो बागलुङ–यो बागलुङ तस्बिर प्रर्दशनी राख्ने पनि तय भएको हो । त्यस बाहेक सञ्चार सामाग्री र उपकरण प्रर्दशनी, परम्परागतदेखि आधुनिक सामाग्री उक्त बेलामा प्रदर्शनीमा राखिनेछ ।

महासंघ र प्रेसको विषय झल्कने सन्देश दिन लाइभ पेन्टिङको कार्यक्रम तय गरिनेछ । त्यस्तै पाहुनालाई साइड सिनको रुपमा महत्वपुर्ण पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गराउने तथा बागलुङका मौलिक गीतसंगीत र नृत्य देखाउने समेतको कार्यक्रम राखिने योजना छ ।

२०५७ सालमा नेपाल पत्रकार महासंघ बागलुङको स्थापना गरिएको थियो । बिदुर खड्का संस्थापक अध्यक्ष भएर शुरु भएको महासंघमा नारायणदत्त कँडेल, राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष, नरेश कँडेल अध्यक्ष भैसकेका छन् । मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा जग्गा व्यवस्थापन भइ शिलान्यास भएको भवन दिल शिरिष अध्यक्ष हुँदा बनाएर उद्घाटन समेत भैसकेको छ । यसअघि महासंघले ‘धौलागिरिको पत्रकारिता’ नामक पुस्तक प्रकाशित गरेर ऐतिहासिक पृष्ठभूमिबारे आम नागरिकलाई जानकारी गराउने र दस्तावेजीकरण गराइसकेको छ ।

हाल महासंघले आफ्नै भवनबाट कार्यालय संचालन गरिरहेको छ । संस्थागत रुपमा विकास गर्दै अगाडि बढेको महासंघमा अहिले ७२ जना सदस्य छन् । बागलुङको पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन महासंघको नेतृत्वले पहल गर्दै आएको छ ।

बागलुङमा जन्मेर पत्रकारिता थालेपछि राजधानीसहित देश विदेशमा रहेका दर्जनौं पत्रकार समेत छन् । उनीहरुको साथ र सहयोगबाट रजत महोत्सव सफल बनाउने सचिव नारायण रिजालले बताए । यो अभियानको शुरुवात महासंघले थालिसकेको छ । त्यस बाहेक यो वर्ष महासंघले जिल्लाका सबै स्थानीय तहदेखि सामाजिक संस्था समेतको सहकार्यमा विभिन्न क्रियाकलाप पनि संचालन गर्दै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->