बागलुङ/जिल्लाको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छातीरोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक खोजपड्ताल शिविर गर्दै आफै गाउँ गाउँ पुग्न थालेका छन् । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट चिकित्सकसहित पुग्ने प्राविधिक टोलीले गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर क्षयरोगको चेकजाँच गर्छ । अघिल्लो वर्ष प्रदेशका ११ जिल्लाका विभिन्न क्षयरोग संवेदनशिल पालिकामा पुगेर ३२ हजारभन्दा बढी नागरिकको चेकजाँच गर्दा ४ सय ५२ जनालाई क्षयरोग संक्रमण देखिएको थियो ।
यो वर्ष पनि बागलुङसँगै तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरका केही स्थानीय तहमा पुगेर शिविर सञ्चालन गरि सकिएको छ । सोही खोजपड्ताल शिविरअन्तर्गत शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का नागरिकलाई लक्षित गरेर बोवाङ स्वास्थ्य चौकीमा क्षयरोगको खोजपड्ताल गरिएको छ ।
शिविरमा ३ सय ६५ जनाको चेकजाँच गरिएको प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशका ल्याव टेक्निसियन तथा ‘एक्सरेद्वारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविर’ कार्यक्रमका फोकल पर्सन राजेन्द्र रानाभाटले जानकारी दिए ।
उनका अनुसार १२ जनामा क्षयरोगको संक्रमण देखिएको छ । उनीहरुलाई औषधी सेवन गराईएको उनले बताए । चेकजाँच गरिएकामध्ये ३२ जनामा संक्रमणको लक्षण देखिएपछि थप चेकजाँचका लागि खकार संकलन गरिएको उनले जानकारी दिए ।
बिहीबार गलकोट नगरपालिकामा २ सय २४ जनाको चेकजाँच गर्दा ३ जनामा क्षयरोगको संक्रमण देखिएको थियो । ११ जना शंकास्पदको खकार परिक्षणका लागि संकलन गरिएको रानाभाटले बताए ।
खोजपड्ताल शिविरको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्य, स्वास्थ्य मन्त्रालय र आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै नसर्ने रोगको निवारणका लागि गाउँ गाउँमै शिविर सञ्चालन गरिएको बताए । स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखिनै यो कार्यक्रम सुरु गरेको भन्दै उनले यसवर्ष पनि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
आर्थिक अभाव र सचेतना नभएका कारण दुर्गम गाउँका जनताले नसर्ने रोगको उपचार र निवारणका लागि ध्यान पु¥याउन नसकेको भन्दै स्वास्थ्यमन्त्री पाठकले स्वास्थ्य सचेतना प्रर्वद्धनसँगै रोग निवारणका लागि समेत शिविर सञ्चालन गरिएको बताए ।
प्रादेशिक रोग नियन्त्रण केन्द्रले प्रत्येक जिल्लाका प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा शिविर सञ्चालन गर्छ । जिल्लामा क्षयरोगको जोखिम रहेका पालिका र वडाको विवरण प्रदेश जनस्वास्थ्य कार्यालयबाट लिएर शिविर सञ्चालन गर्ने गरिएको हो ।





