पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।
प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका उम्मेदवार आकांक्षीहरूको नाम रायसहित जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो ।
गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रका लागि कुल १ सय २१ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस सूचीमा सबैभन्दा धेरै कास्कीबाट ३२ जना, स्याङ्जाबाट २१ जना र तनहुँबाट १८ जना आकांक्षी रहेका छन् । केन्द्रीय कमिटीले सिफारिसका आधारमा उम्मेदवारको योग्यता, लोकप्रियता र निर्वाचन जित्ने सम्भावनालाई मूल्यांकन गरी अन्तिम उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।
१८ निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा एमालेले एकल नाम सिफारिस गरेको छ । नवलपुर–२ बाट तिलकबहादुर महत क्षेत्री, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे र मनाङबाट पोल्देल छोपाङ गुरुङको नाम एकल रूपमा सिफारिस गरिएको प्रदेश सचिव दवाडीले जानकारी दिए । एकल सिफारिस भएका निर्वाचन क्षेत्रमा सोही नाममा उम्मेदवार टुंगो लाग्ने एमालेको भनाइ छ ।
कास्की क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित आठ जना, क्षेत्र नम्बर २ बाट ११ जना र क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दामोदर वैरागीसहित १३ जनाको नाम सिफारिस गरिएको छ । नवलपुर–१ बाट सात जनाको नाम सिफारिस सूचीमा परेको छ । तनहुँ–१ बाट आठ जना र तनहुँ–२ बाट १० जना आकांक्षी सिफारिस भएका छन् । स्याङ्जा–१ बाट छ जना र स्याङ्जा–२ बाट १५ जनाको नाम सिफारिस गरिएको छ । गोरखा–१ बाट सात जना र गोरखा–२ बाट छ जना उम्मेदवार आकांक्षी सिफारिस भएका छन् ।
यसैगरी लमजुङबाट छ जना, पर्वतबाट १० जना, बागलुङ–१ बाट तीन जना, मुस्ताङबाट तीन जना र म्याग्दीबाट पाँच जनाको नाम केन्द्रीय कमिटीमा पठाइएको प्रदेश कमिटीले जनाएको छ । ‘हामीले लोकतान्त्रिक पद्धतिअनुसार तल्लो कमिटीबाट आएका सुझाव र आकांक्षीहरूको भावनालाई सम्मान गर्दै सबै नाम केन्द्रमा पठाएका छौँ,’ सचिव दवाडीले भने, ‘अब केन्द्रीय कमिटीले समग्र मूल्यांकनका आधारमा अन्तिम निर्णय गर्नेछ ।’





