
बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नुपर्ने बताएका छन । त्रिभुवन माध्यमिक विद्यालय बलेवाको हिरक जयन्ती मुख्य समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि पनि निर्वाचन अपरिहार्य भएको बताए । उनले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सवै मिलेर सफल पार्नुपर्ने बताए।
‘हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यहि दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ यो हामीले बिर्सन हुन्न,’ राष्ट्रपति पौडेलले भने । ‘जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसंगतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आजको आवश्यकता हो । परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र होइन सबै नेपालीको आवाज र चाहना पनि यही हो,’ राष्ट्रपति पौडेलले भने, ‘यसका लागि जनचाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय भनेकै निर्वाचन हो । त्यसैले, आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आजको आवश्यकता हो । सुन्दर र सुरम्य धौलागिरिको यस पवित्र भूमिबाट म पुनःएकपटक आमनेपाली जनतालाई यसका लागि आव्हान गर्दछु ।’
राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुश्चक्तमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको महायज्ञलाई सफल पार्न आग्रह गरे । ‘शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ’, राष्ट्रपति पौडेलले भने, ‘शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नविनतम आयामहरूको विकास र विस्तारमा जोड दिनु आज हामी सबैको मुख्य दायित्व हो ।’
राष्ट्रपति पौडेलले आजको बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढंगले युगानुकुल शैक्षिक क्रियाकलापका नविनतम आयामहरूलाई अघि बढाउन ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले जहाँनीया राणा शासन विरुद्ध परिवर्तनको दियो बालेर चेतना जागृत गर्ने तिव्र आकांक्षा र हुटहुटि भएका अग्रजहरूको अग्रसरताबाट स्थापना भएको जिल्लाकै दोस्रो पुरानो यस विद्यालयले नेपालको शैक्षिक इतिहासमा आज आफ्नो गौरवमय इतिहास निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै पुरातनवादी सोच र अन्धकारबाट उज्यालोतर्फ नेपाली समाजलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपती पौडेलले धौलागिरी क्षेत्र आफ्नो राजनितिक आन्दोलनमा एउटा इतिहास बोकेको हुँदा यस क्षेत्रप्रति सधै मायाँ र सदभाव रहेको बताए । उनले बागलुङ आफ्नो राजिनतिक जीवनमा निकै नजिक र गृह जिल्ला पछिको दोस्रो जिल्ला भएको बताए । पौडेल २०४६ सालको आन्दोलनका क्रममा यसै विद्यालय हुँदै पर्वत गएका थिए । कार्यक्रममा विद्यालयले प्रकाशन गरेको हीरक जयन्ती स्मारिकालाई राष्ट्रपती पौडेलले लोकार्पण गरे । पौडेलले विद्यालयमा स्थापना गरिएको हीरक स्तम्भको समेत अनावरण गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जिल्लाकै पुरानो विद्यालयले शैक्षिक क्षेत्रमा ठुलो फड्को मारेको बताए । कार्यक्रममा सोही विद्यालयमा अध्ययन गरेर नेपाल सरकारको विशिष्ट सेवामा रहेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति पौडेललाई मायाको चिनोको रूपमा बागलुङमा उत्पादन हुने बुट्टेनली प्रदान गरिएको थियो। कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले मायाको चिनोको रूपमा राष्ट्रपति पौडेललाई बुट्टेनली प्रदान गरेका थिए ।
हिरक जयन्ती बुधबार देखी सुरु भएको र माघ दुई गते सम्म संचालन हुनेछ । बुधबार वडा भित्रका महिला समुहविच रत्यौली प्रतियोगिता, लठ्ठो तान्ते लगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । यसै अवसरमा बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.रामबहादुर केसीको अध्यक्षता विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पौडेलको स्वागत, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल र विद्यालयका शिक्षक विष्णु केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार थानेश्वर गौतम र रिमा थापा लगायतका कलाकारले प्रस्तुती राखेका थिए ।





