पोखरा/गण्डकीका १८ निर्वाचन क्षेत्रका लागि २४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार मंगलबार लमजुङमा १२, नवलुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पवर्तमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोर्खामा २७, स्याङ्जामा २८ र कास्कीमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
२४७ जना उम्मेदवारमध्ये गोर्खा क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका हुन् । यस्तै लमजुङबाट पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, तनहुँको २ बाट पूर्वमन्त्री शंकर भण्डारी चुनावी मैदानमा छन् । पृथ्वीसुब्बा एमालेबाट र शंकर कांग्रेसबाट उम्मेदवार बनेका हुन् । यो पटक उम्मेदवारी दिएकामध्ये अधिकांश संघीय संसदको चुनावमा नयाँ अनुहार रहेका छन् । उम्मेदवारी दर्ता गर्दा पुराना दलहरु तामझामका साथ निर्वाचन आयोग पुगेका थिए भने नयाँ दलहरु सक्रियता पनि कम्ता थिएन ।
लमजुङमा १२ जनाको उमेदवारी
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ ।
लमजुङमा एकमात्र निर्वाचन क्षेत्र छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार उम्मेदवारी दर्ता गर्नेहरुा राप्रपाका केबिन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङ छन् । यसैगरी नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी, एमालेबाट पृथ्वीसुव्वा गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
नेशनल रिपब्लिक नेपालका भरत गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेपाल कम्युनिष्ट पार्टी माओवादीका रबिन्द्र नखोला, मंगोल नेशनल अर्गानाईजेशनका विकास गुरुङ, स्वतन्त्र सन्तोष घिमिरे र नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नवलपुरमा ३७ उम्मेदवार
नवलपुरका दुई निर्वाचन क्ष्ँेत्रमा ३७ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । २ नम्बर क्षेत्रमा रास्वपावाट टिकट पाएका भरत प्रसाद वस्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन । रास्वपाले उम्मेदवार आब्हान गर्दा वस्तीले नाम लेखाएका थिए ।
जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकृत सिता अधिकारीका अनुसार ति मध्ये चार महिला सहित नौ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका छन । यहा राष्ट्रिय स्वतन्त्रपार्टी, कांग्रेस, एमाले, नेकपा , श्रमसस्कृति, राप्रपा, जनमोर्चा लगायतका दलवाट उम्मेदवारी परेको छ ।
म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्मको समयभित्र स्वतन्त्र र विभिन्न दलबाट दिइएको छ ।
मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी केबी नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यूवराज रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुबेदी, नेकपा (माओवादी केन्द्र) बाट क्षेत्रबहादुर घिमिरे धुब्र रहेका छन् ।
त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट विनोद लामा, राष्ट्रि«य जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नविन जिसी रहेका छन् । मनोनयनदर्ताका लागि सबैभन्दा पहिला स्वतन्त्रबाट महावीर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।
मनोनयपत्र दर्ताका लागि पुगेका उम्मेदवारले आफ्नो विजय निश्चित भएको बताएका थिए । मुख्य दलहरु हुने गरेको प्रतिस्पर्धामा यसपटक नयाँ दलसँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिलेसमेत माहोल बढ्दै गएको छ । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
पर्वतमा १७ उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत १७ जनाको उम्मेदवारी दर्ता भएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा चार जना स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दिनेमा १३ वटा राजनीतिक दलबाट १३ जना र चार जना स्वतन्त्र उमेदवार हुन । जसमध्ये नेपाली काँग्रेसवाट केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेकपा एमालेवाट केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीवाट केन्द्रीय सदस्य मनहरी शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीवाट सागर भुसालको उम्मेदवारी परेको हो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीवाट दुर्गा बहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीवाट कृष्णबहादुर विक, आम जनता पार्टी (एकल चुनाव चिन्हवाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भिमलाल न्यौपानेको उम्मेदवारी परेको हो ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीवाट माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीवाट यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनवाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालवाट बीरबहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेले जानकारी दिए ।
यसैगरी स्वतन्त्रवाट सितादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमालको उम्मेदवारी परेको लामिछानेले बताए । उम्मेदवारी दर्ताका लागि शिर्ष दलहरु बाजागाजा र ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
पर्वतमा उम्मेदवारी दिएका मध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा पर्वतबाट एमाले बिजयी भएको थियो । पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
रास्वपाका उमेदवार हराउँदा मनाङमा पाँच जनाको उमेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनाङमा टिकट दिएका उमेदवार सम्पर्कविहीन बनेका छन् । जसका कारण एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा रास्वपाले उमेदवारी दिन सकेन ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीका अनुसार, उमेदवार समयमा नपुगेका कारण उमेदवारी नदिइएको बताए । यहाँ रास्वपाले अनिल गुरुङलाई टिकट दिएको थियो । यद्यपि, उनी आफैँ सम्पर्कमा नरहेको जानकारी दिए । “हिजो काठमाडौंबाट हिँड्नुभएको समयमा पुग्न सक्नुभएनछ । सम्पर्कमा पनि आउनुभएको छैन,” त्रिपाठीले भने ।
मनाङमा पाँचजनाले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उमेदवारी दिएका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा छन । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट यशोदा गुरुङ सुवेदीले उमेदवारी दर्ता गराएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनबाट रामबहादुर घलेले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उमेदवार पोल्देन यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँगै पराजित भएका थिए । यस पटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबीच नै मुख्य भिडन्त हुने आकलन छ ।
मुस्ताङमा ८ उमेदवार
विघटित प्रतिनिधिसभा सदस्य योगेश गौचनले मुस्ताङबाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन । कांग्रेसबाट उमेदवार बनेका गौचन ३२ वर्षका भए ।
एमालेले इन्द्रधारा ढाडु विष्टलाई उमेदवार बनाएको छ । ५६ वर्षका विष्ट २०७४ सालमा प्रदेशसभा सदस्य थिए भने ०७९ को चुनावमा पराजित भएका थिए । गौचन दक्षिण मुस्ताङको लेतेका हुन् भने विष्ट उत्तरी मुस्ताङ लोमान्थाङका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले मनोनयनपत्र दर्ता भएका उमेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
त्यस्तै, रास्वपाबाट ३९ वर्षीय अद्वितीय चन्द्र थकाली र राप्रपाबाट ६० वर्षीया कमला लालचन चुनावी प्रतिस्पर्धामा छन् । दर्ता भएका आठ उमेदवारमध्ये कमला एक मात्र महिला उमेदवार हुन् । उमेरको हिसाबले सबैभन्दा कान्छा उमेदवार आम जनता पार्टीका २६ वर्षीय अजय विक छन् भने सबैभन्दा पाका उमेदवार उज्यालो नेपाल पार्टीका ६८ वर्षीय सुरेन्द्र शेरचन छन् । नेपाली कम्युनिस्ट पार्टीले ङुटुक गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनले यमबहादुर गुरुङलाई उठाएको छ ।
तनहुँमा २८ उमेदवार
तनहुँमा २८ जनाको उमेदवारी परेको छ । २ निर्वाचन क्षेत्र रहेको तनहुँमा स्वतन्त्रसहित २८ जनाले उमेदवारी दिएका हुन् । तनहुँ– १ मा १६ र २ मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
०८० को उपनिर्वाचनमा जित हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अहिले पनि तनहुँ–१ मै उमेदवारी दर्ता गराए । त्यतिबेला स्वर्णिमका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले पनि उमेदवारी दर्ता गराएर स्वर्णिमसँग चुनावी मैदानमा दोस्रो भेट तय गरेका छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले कार्यकाल सकिनै लागेको राष्ट्रियसभाबाट राजीनामा दिएर उमेदवारी दर्ता गराएकी छन् । नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल तथा उज्यालो नेपाल पार्टीका मन्जिल रानाले उमेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उमेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले पनि तनहुँ–१ बाट उमेदवारी दिएका छन् ।
तनहुँ–१ मा हर्क सम्पाङको श्रम संस्कृति पार्टीले उमेदवारी दिएको छ । श्रम संस्कृतिबाट काशीराम गुरुङले मनोनयन दर्ता गराएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, नेशनल रिपब्लिक नेपालका सुमन थापाले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, लेखनाथ खनाल, सन्देश रानाभाट लौडारीले यो क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
तनहुँ–२ मा भने १२ जनाले उमेदवारी दिएका छन् । यो क्षेत्रमा ०७४ को प्रतिनिधि सभामा आमानेसामने भएका नेकपा एमालेका केदार सिग्देल र नेपाली कांग्रेसका शंकर भण्डारीले उमेदवारी दिएका छन् । त्यतिबेला केदारले शंकरलाई पराजित गरेका थिए । ०७९ मा भने नेकपा एमालेका किरण गुरुङलाई पराजित गर्दै शंकर संसद छिरेका थिए ।
सो क्षेत्रबाट रास्वपाका श्रीराम न्यौपानेले उमेदवारी दर्ता गराएका छन् । तनहुँ– २ मा नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा (एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण ठकुरीको उमेदवारी दर्ता भएको छ ।
उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका सुष्मा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर रानाले पनि उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत भेषराज पौडेलले जानकारी दिए ।
नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा (माओवादी) का गणेश लामगादे, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामे र नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले मनोनयन दर्ता गराएका छन् । राना बिरामी भएर अस्पतालमा उपचाररत छन् । उनले वारेसमार्फत मनोनयन दर्ता गराएका हुन् ।
गोरखामा २७ जना आकांक्षी
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाको दुई निर्वाचन क्षेत्रमा २७ जनाले उम्मेदवारी दिएका छन् । गोरखा–१ मा १३ जना र गोरखा–२ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखा–१ मा नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुधन गुरुङ, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सवादी लेनिनवादी)बाट रामचन्द्र लामिछाने, नेपाल कम्युनिस्ट पार्टी(माओवादी)बाट विष्णुप्रसाद रिजाल, नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीबाट मनुकुमारी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केदारमणि खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, मंगोल नेशलन अर्गनाइजेशनबाट देवबहादुर थापा र संयुत्त नागरिक पार्टीबाट जित बहादुर घले उम्मेदवार बनेका छन् ।
त्यस्तै, गोरखा क्षेत्र नम्बर २ मा १४ जनाले उम्मेदवारी दिएका छन् । गोरखा–२ मा नेपाली कांग्रेसबाट प्रकाश चन्द्र दवाडी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कवीन्द्र बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, आम जनता पार्टीबाट कल्पना कुमाल, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) बाट टेकबहादुर प्रधान, मंगोल नेशलन अर्गनाइजेशनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टी रामशरण वुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी(एकीकृत माक्र्सवादी लेनिनवादी) बाट मिलन गुरुङ, नेशन रिपब्लीक नेपालबाट प्रसाद गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै, चुडाप्रसाद ढकाल र हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्याङजामा २८ उमेदवार
दुई क्षेत्र रहेको स्याङ्जामा फागुन २१ गते हुने निर्वाचनका लागि २८ जना उमेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्याङ्जा क्षेत्र नम्वर १ बाट १३ जनाले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नम्वर २ बाट १५ जनाले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नम्वर १ मा २ जना स्वतन्त्र उमेदवार र क्षेत्र नम्वर २ मा ४ जना स्वतन्त्र उमेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । यो पटकको निर्वाचनमा भर्खरै स्थापना भएको उज्यालो पार्टी र श्रम संस्कृति पार्टीले समेत उमेदवारी दर्ता गराएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार क्षेत्र नम्वर १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी, नेशनल रिपव्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, नेकपा एमालेबाट मिनप्रसाद गुरुङ्, मंगोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ्, नेपाली काँग्रेसबाट भरतराज ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुम बहादुर राना, स्वतन्त्रबाट अशोक बिष्ट र मनोज नेपाली दर्जी, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक, स्वतन्त्र उमेदवार दिलिप श्रेष्ठ, स्वतन्त्र उमेदवार खिमबहादुर क्षेत्री, नेपाली काँग्रेसबाट भागवत प्रकाश मल्ल, स्वतन्त्र उमेदवार घनश्याम पाण्डे, जय मातृभुमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपव्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गानाइजेसबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजान्तत्र पार्टीबाट रविन पाठक, नेकपा एमालेबाट खिमबहादुर थापा, स्वतन्त्र उमेदवार सागर थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे र प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट टिकाराम रेग्मीले उमेदवारका लागि मनोनयन दर्ता गरेका छन् ।
बिहान १० बजेबाट मनोनयन शुरु भएर ५ बजे सकिएको थियो । क्षेत्र नम्बर १ का लागि जिल्ला सदरमुकाम पुतलीबजार र क्षेत्र नम्बर २ का लागि वालिङमा मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको थियो । मुलुकका ठुला राजनीतिकदलको तामझामका साथ उमेदवारी दर्ता गर्न आएका थिए भने साना दलका भने सामान्य रुपमाबाट उमेदवारी दर्ता गर्न निर्वाचन कार्यालय आएका थिए ।





