बागलुङ/नेकपा एमाले बडिगाड गाउँ कमिटिको विस्तारित बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनको संयोजकत्वमा ३ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ ।
कमिटिको सचिवमा बडिगाड गाउँ कमिटि अध्यक्ष कमलराज आचार्य रहेका छन् । बैठकले जिल्ला कमिटि सदस्य थुमा सापकोटा संयोजक तथा जिल्ला कमिटि सदस्य केशमाया छन्त्याल सचिव रहेको १ सय १ सदस्यीय महिला परिचालन समिति गठन गरेको छ । जिल्ला कमिटि सदस्य हितमान शेरचनको संयोजकत्वमा गठित १ सय १ सदस्यीय युवा परिचालन समितिको सचिवमा जिल्ला कमिटि सदस्य दिनेश थापा रहेका छन् ।
पार्टिले निर्वाचन परिचालनको लागि कार्यवाहक अध्यक्ष विष्णु भुसालको संयोजकत्वमा १ हजार १ सय २५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटिको गठन गरिसकेको छ । जसको सदस्यमा प्रदेश कमिटि, सल्लाहकार, पूर्व प्रदेश कमिटि, जिल्ला कमिटि, पालिका कमिटि र वडा कमिटिका पदाधिकारी रहने छन् ।
त्यस्तै निर्वाचन प्रचारलाई थप व्यवस्थित बनाउन प्रदेश कमिटिबाट सुनिल शेरचन, बाबुराम नेपाली, टंक पौडेल, लक्ष्मण पुन, संजय श्रेष्ठ, तिलक उप्रेती र उदिम छन्त्याल रहेको निर्देशक कमिटिको समेत गठन गरिएको छ ।
युवा संयोजनका लागि क्षेत्र नं. २ को लागि रेशम घर्तिको संयोजकत्वमा १ सय ५ सदस्यीय युवा परिचालन कमिटि गठन गरेको एमालले करमति पुनको संयोजकत्वमा १ सय ५ सदस्यीय महिला परिचालन कमिटिको गठन गरेको छ । मतदाता शिक्षाको लागि प्रत्येक वडामा ४ जना महिला स्वयंसेवक परिचालन गर्ने निर्णय भएको निर्वाचन परिचालन समितिका संयोजक विष्णु भुसालले जानकारी दिए ।
विस्तारित बैठकमा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेद्वार मञ्जु शर्मा चालिसेले स्थानीय मुद्धा राष्ट्रियकरण गर्दै समस्या समाधानमा पहलकदमी लिन र राष्ट्र रक्षाको पहरेदारी गर्न पूर्ण तत्परताका साथ आफू उमेदवार बनेको बताइन् ।
त्यस्तै प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनले राष्ट्रहितको लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गरेका छन् । कार्यक्रममा जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष विष्णु भुसालले राष्ट्रियता र स्वाधिनताको रक्षासंगै देशको समृद्धिको लागि एमालेको आवश्यकता बढि खड्किएको भन्दै भ्रम चिर्दै जनतामा पुग्नु पार्टी कार्यकर्ताको दायित्व हुने बताए ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य ढालप्रसाद शेरचन, विष्णु प्रसाद आचार्य लगाएतले बोलेका थिए । कार्यक्रम गाउँ कमिटि अध्यक्ष कमलराज आचार्यको अध्यक्षता तथा उपाध्यक्ष विष्णु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बैठकले बुर्तिवाङ र हटिया बजारमा सम्पर्क कार्यालय सञ्चालन गर्ने, माघ १६ गतेदेखि तमानखोलाको लाममेलाबाट घरदैलो कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । ताराखोला र गल्कोटमा विस्तारित बैठक सम्पन्न गरेको एमालेले १३ गते तमान, १४ गते निसी तथा १५ गते ढोरपाटनमा विस्तारित बैठक गर्दै छ ।





