आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरदैलो अभियानमा राजनीतिक दलहरु

घरदैलो अभियानमा राजनीतिक दलहरु


  • ढाेरपाटन संवाददाता
  • माघ १७ २०८२, शनिबार

बागलुङ/आसन्न निर्वाचनका लागि दलका नेताहरु घरदैलोमा लागेका छन् । फागुन २ अघि आमसभा लगायतको खुला कार्यक्रम गर्न नपाउने भएपछि उमेदवारसहितका नेताहरु घरदैलोमा लागेका हुन् ।

फागुन २१ गतेको निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता भैसकेको छ । निर्वाचन हाँक्न दलहरुले नेतृत्व पनि चयन गरिसकेका छन् । साथै सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर त्यहाँबाट कार्यकर्ता परिचालन गरिसकेको बताए ।

क्षेत्रीय रुपमा पनि निर्वाचनका कमाण्डर बनाएर प्रचार अभियान थालिएको हो । कांग्रेसले क्षेत्र नंं १ मा चण्डीप्रसाद शर्माको नेतृत्वमा दुइवटा प्रदेश क्षेत्रका सभापति सहित पदाधिकारीलाई निर्वाचन परिचालन समितिमा राखेर काम थालेका छन् । एमालेले पुर्व सांसद सूर्य पाठकलाई निर्वाचन परिचालनको कमाण्डर बनाएको छ भने राजमोले तिलक थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले रोशन खड्कालाई नेतृत्व दिएर प्रचार अभियान थालेका छन् ।

पहिलो चरणमा निर्वाचनमा होमिएका उम्मेदवारहरुले घरघरमा पुगेर जनतालाई भेट्ने, राजनीतिक प्रशिक्षण गर्ने र आफ्नो दलको उद्देश्य र लक्ष्यबारे बताउने गरेका छन् । निर्वाचन लक्षित गरेर दलहरुले १ हजार, ५ सय जनासम्म रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेका छन् ।

क्षेत्र नं. २ तर्फ कांग्रेसले क्षेत्रीय सभापति जोकलाल बुढा, एमालेले बिष्णुप्रसाद भुषाल, माओवादीले फमलाल निउरे र रास्वपाले ढालेन्द्र रायमाझीलाई प्रचार संयोजक बनाएको छ । प्रारम्भिक चरणमा क्षेत्र नं. २ मा पनि दलले घरदैलो कार्यक्रम गरिरहेको बताए ।

पछिल्लो समय राजनीतिक दलहरुप्रतिको बितृष्णा बढीरहेको बेला दलहरुले जनतालाई भेटेर आफ्नो लक्ष्यबारे बताउने काम नै चुनौतीको छ । जेनजी आन्दोलनपछि त झन् दलप्रतिको विश्वास कम भएको थियो । कतिपय नेतालाई गाली गर्ने क्रम चलेकोले कार्यकर्ताहरुले जनतालाई वास्तविकता बुझाउन समेत समस्या परेको देखिएको छ ।

फागुन लागेपछि भने आम सभा गर्न पाउने व्यवस्था छ । त्यतिबेला राष्ट्रिय नेताहरुको उपस्थितीमा चुनाावी आमसभा र कार्यक्रम गरिने गरी दलहरुले तालिका बनाउँदैछन् । त्यसअघिको निर्वाचन घरदैलोमा भएकोले माहोल तातेको जस्तो नदेखिएको स्थानीय बासिन्दाले बताए । ‘निर्वाचन आएको जस्तो भैसकेको छैन’ स्थानीय कमला जिसीले भनिन्, ‘राजनीतिक दलहरु अहिले त्यति सक्रिय पनि देखिएनन् ।’ उनले यो पटक दलभन्दा उमेदवारको क्षमता र नेतृत्वप्रति विश्वास गरेर मतदान गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->