बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी गर्दै बागलुङ निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार सोम शर्मा, समानुपातिक उम्मेदवार प्रकाश सपुत र गंगा छन्त्याल जिल्लाको दुर्गम गाउँ वस्तीमा पुगेका छन् ।
दुर्गम गाउँमा पुग्दा उनीहरुले स्थानीयसंग नागरिकका अधिकार र राज्यको जिम्मेवारीको कुरा बुझाई रहेका छन् । संविधानले प्रत्याभूत गरेका अधिकार राज्यले स्थानीयलाई नदिएकोले आफुहरु वैकल्पिक शक्तिका साथ उपस्थित भइरहेको उनीहरुले बताएका छन् । त्यसो त यो निर्वाचन क्षेत्रमा दुर्गम वस्तीहरु र पिछाडिएको क्षेत्र नै बढि पर्दछ ।

दुर्गमवस्ती तमानखोला वडा नं. ५ खुंखानीमा भएको वडा भेला तथा अधिवेशनमा उनीहरुले स्थानीयको आवाज वोल्न आफुहरु उम्मेदवार बनेर बस्ती बस्तीमा आएको बताए । युवा जोश र जागरसाथ आफ्नो गाउँमा रास्वपाका उम्मेदवारहरुलाई स्थानीयले भब्य उपस्थितिका साथ फुलमाला र खादा लगाएर स्वागत गरे ।
रास्वपाले सुरुको चरणमा तमान, ढोरपाटन र निसीखोलामा चुनावी कार्यक्रम अगाडि बढाइरहेको छ । कार्यक्रममा स्थानीयको सहभागिता, माया र साथले आफुहरु उत्साहित भइरहेको उम्मेदवार सोम शर्माले बताए ।
कार्यक्रममा सहभागी स्थानीयले आफुहरुलाई ठूला भाषणभन्दा पनि विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पुर्वाधारका काम चाहिएको बताए । उनीहरुले युवाहरू विदेशिनु पर्ने बाध्यता घट्ने वातावरण बनाउन उम्मेदवारहरुलाई अनुरोध समेत गरे ।
प्रत्यक्षतर्फका उम्मेदवार शर्माले आफुले पारदर्शिता, जवाफदेहिता र स्थानीय आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देश रेमिट्यान्सबाट होइन, स्थानीय सिप, श्रम र उत्पादनबाट चलाउनुपर्ने बताए । समानुपातिक उम्मेदवार प्रकाश सपुतले हेपिएका, दविएका र भुइमान्छेको आवाज वोक्न नै रास्वपाको जन्म भएको बताउदै आफुहरु त्यसैका लागि लड्ने भएकोले मतदान गरेर जिताउन अनुरोध गरे ।






