आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युवा नेता मैदानमा, खाइपल्केका समानुपातिकमा

युवा नेता मैदानमा, खाइपल्केका समानुपातिकमा

८४ वर्षका केसी प्रत्यक्ष त उठेनन्, समानुपातिकमा पनि नबसे केही फरक पर्दैनथ्यो । तर, उनी जबर्जस्ती समानुपातिकमा बसे ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

बागलुङ/चारपटक संसदको यात्रा गरिसकेका ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी जिल्लाको ‘हेवीवेट’ नेतामा गनिन्छन् । तर, उनी यो पटकको निर्वाचनमा समानुपातिक उमेदवार छन् । ८४ वर्षका केसी प्रत्यक्ष त उठेनन्, समानुपातिकमा पनि नबसे केही फरक पर्दैनथ्यो । तर, उनी जबर्जस्ती समानुपातिकमा बसे । घरायसी कारण देखाएर चुनावमा नउठेका केसीलाई यो उमेरमा पनि पद भने चाहिएको देखिन्छ । केसी २०५६ देखि निरन्तर संसदीय राजनीतिमा सक्रिय छन् ।

आसन्न निर्वाचनमा पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा पनि उमेदवार छैनन् । उनी पनि समानुपातिकमा बसेका छन् । मसालको राजनीतिबाट माओवादीमा लागेका शर्माले माओवादीमा रहँदा प्रवक्ताको पद पनि पाए । समानुपातिक प्रणालीबाटै सांसद बनेर शिक्षामन्त्री समेत बने । राजनीतिमा शिर्ष तहमा पुगेपनि उनले प्रत्यक्ष निर्वाचन जितेका छैनन् । २०७० को संविधानसभामा टिकट लिएर आएका शर्मा त्यसपछि भने बागलुङ फर्केका थिएनन । नेपाली कम्युनिष्ट पार्टीका नेता शर्मा तत्कालीन माओवादीको प्रवक्ता र सचिव भैसकेका छन् ।

अर्का पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले तेस्रो पटक चुनाव लडे पनि बागलुङ छाडेका छन् । उनी नवलपरासीबाट उम्मेदवार छन् । २०६४ को संविधानसभा नवलपरासीबाटै पराजित पौडेल २०७४ मा वाम गठबन्धन र २०७९ मा पाँच दलीय गठबन्धनबाट मात्र पौडेलले बागलुङ क्षेत्र नं. २ बाट चुनाव जितेका थिए । पौडेल पनि माओवादीका सचिव भैसकेका नेता हुन् । उनी दोश्रो संविधानसभा अघि बाबुराम भट्टराईको राजनीतिक सल्लाहकार थिए । उनले आफ्नी श्रीमतीलाई समानुपातिकमा राखेका छन । नेकपाको बन्दसूचीमा खस आर्य महिलातर्फ बलावती शर्मा एक नम्बरमा छन् ।

अहिले नेकपा र राजमोको गठबन्धनमार्फत क्षेत्र नं. १ मा राजमोका कृष्ण अधिकारी र क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे उम्मेदवार छन् । दुवैजना संसदीय यात्राका लागि नयाँ उम्मेदवार हुन् । यो पटक नेकपा र राजमोको गठबन्धन बाहेक सबै दलका छुट्टाछुट्टै उम्मेदवार छन् । कांग्रेसले क्षेत्र नं. १ मा भीम श्रीष र क्षेत्र नं. २ मा टेकराज पौडेललाई उम्मेदवार बनाएको छ । श्रीष त्रिभूवन विश्व विद्यालयको पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य हुन् भने पौडेल पनि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका हुन् । दुवै जना संसदीय निर्वाचनमा पनि नयाँ उम्मेदवार हुन् ।

एमालेले क्षेत्र नं. १ मा हीराबहादुर केसी र क्षेत्र नं. २ मा मञ्जु शर्मा चालिसे उम्मेदवार बनाएको छ । केसी र चालिसे संसदीय यात्रामा एक पटक उमेदवार भएपनि निर्वाचित भएका छैनन् । केसी २०७० र २०७९ मा कांग्रेस उम्मेदवारसँग पराजित थिए । चालिसे गत २०७९ को निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवार देबेन्द्र पौडेलसँग पराजित भइन् ।

रास्वपाले क्षेत्र नं. १ का सुशील खड्का र २ मा सोम शर्मा उमेदवार बनाएको छ । दुवैजना नयाँ उमेदवार हुन् । जेनजी आन्दोलन पनि उनीहरु राजनीतिमा आइपुगेका छन् । दुवैजना सामाजिक सञ्जालमार्फत् अभियानकर्मीको रुपमा चिनिन्छन् । राप्रपाले पनि क्षेत्र नं. १ मा कल्याण विक्रम आचार्य र क्षेत्र नं. २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाएको छ । उनीहरु पनि नयाँ उम्मेदवार हुन् । अन्य साना दलले उम्मेदवार बनाएकाहरु भने पटक–पटक उमेदवार बनेकाहरु प्नि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->