बागलुङ/निर्वाचन नजिक आइरहेको बेला जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले १ सय १५ थान अबैध भरुवा बन्दुक बरामद गरेको हो ।
चुनावको सुरक्षा तथा अबैध हतियार मुक्त समाज बनाउने अभियान स्वरुप थालिएको अभियानमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
बरामद भएका हतियार ग्रामीण क्षेत्रको जंगल, ओडारलगायतका स्थानमा भेटिएको समेत प्रहरीको भनाइ छ । तर यतिधेरै हतियार बरामद गर्दा प्रहरीले एकजना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च र अपरेशन अभियान थालेपछि सबै हतियार जंगल छेउछाउ, खोंचहरुमा भेटाएको भन्दै प्रहरी उपरीक्षक भारतीले अझै थप खोजी भैरहेको बताए । बरामद भएका अधिकांस घरेलु रुपमा बनाइएका हतियार भएपनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको उनले बताए । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना भने बरामद भएको छैन ।
बरामद भएका हतियारलाई प्रहरीले सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकोले अनुसन्धानको पाटोपनि अगाडि बढाएको पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । निर्वाचन नजिक आइरहेको बेला प्रहरीले बैध हतियार समेत प्रहरीमा बुझाउन सूचना प्रकाशित समेत गरेको छ । उक्त सूचना अनुसार अहिले सम्म १९ थान बन्दुक सम्बन्धीत लाइसेन्स वालाले प्रहरीमा बुझाएका छन् । सो अभियानकै क्रममा अबैध हतियार पनि भेटिएको हो ।
प्रहरीले अझै धेरै अबैध हतियार भेटिन सक्ने आशंकामा खोजी अभियान जारी राखेको छ । ‘शंकास्पद क्षेत्र र मानिसको तलासी लिने काम पनि भैरहेको छ’ इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक तिलक मानन्धरले भने, ‘निर्वाचन सुरक्षाकालागि पनि यो अभियान निरन्तर रहनेछ ।’ आसन्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पुरा गर्न पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए ।
म्यादी प्रहरी अपुग
पत्रकार सम्मेलनमा प्रहरीले बागलुङमा आवश्यक पर्ने म्यादी प्रहरी पनि अपुग भएको बताएको छ । जिल्लामा आवस्यक संख्या १ हजार २ सय ९८ जना भएपनि अझै ६३ जना नपुगेको उनले बताए । त्यसबाहेक सशष्त्रमा पनि र १ सय ७९ जना म्यादी चाहिएकोमा अपुग भएको हो । छनोट भएकाहरु तलिममा नआएका, आएकाहरुले नियुक्ति लिने समयमा छाड्ने गरेकोले थप संख्या आबस्यक पर्ने भएको भारतीको भनाइ छ । त्यसकालागि छिमेकी पर्वत, म्याग्दी र गोरखाबाट समेत केही म्यादी झिकाएको हो । आसन्न निर्वाचनमा बागलुङमा २९ वटा मतदान केन्द्र अति संवेदनशील, २५ वटा केन्द्र संवेदनशील रहेकोले सुरक्षाकालागि सचेत भएको भारतीले बताए ।





