पोखरा/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो सभा गरेर र लाखौ खर्च गरेर भोट पाउने समय गएको बताएका छन् । सूचना प्रविधिको युग भएकाले अहिले त्यसको अधिकतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
‘ठूलो सभा गरेर, लाखौ खर्च गरेर भोट धेरै पाउने समय गयो’, पोखरामा आज कास्कीका पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिदै प्रचण्डले भने, ‘अव घरघर, टोलटोलमा पुगेर पार्टीको एजेन्डा र बिचार प्रवाह गर्नुपर्छ । देशको परिस्थिति र पार्टीको अवधारणा बताउनु पर्छ । आइटीको जतिसक्दो बढी प्रयोग गर्नुपर्छ ।’ सूचना प्रविधिको दुरुपयोग गर्दै फेक समाचार तथा सामाग्री बनाएर अफवाह फैलाउने बिरुद्ध लाग्नुपर्नेमा उनको जोड थियो ।
फागुन २१ मा हुने निर्वाचन नियमित र सामान्य परिस्थितिको नभएको उनले बताए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा विध्वंसबाट उत्पन्न असहज र असाधारण परिस्थितका कारण बाध्यात्मक निर्वाचन रहेको उनको भनाई थियो । असहज परिस्थितिमा देशलाई निकास दिने उद्देश्यसाथ आफ्नो पार्टी र नेतृत्वको तर्फबाट सहजीकरणमार्फत अहिलेको परिस्थिति निर्माण गरिएको दावी उनको थियो । ‘असहज परिस्थितिको निकास जनतामा गएर मात्र हुनसक्छ भनेर हामीले सहजीकरण, अपिल र अडान लिएका हौ’, उनले भने, ‘राजनीतिक दल, नागरिक समाज र जनता सबै निर्वाचन प्रक्रियामा सामेल भएकाले अहिलेको निर्वाचन संभव भएको हो ।’ उनले अहिले पनि कतिपय निर्वाचन सार्न पाए हुन्थ्यो भन्ने पनि रहेका तर, सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग, राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिका कुरा सुन्दा निर्वाचन सर्ने कुराको द्विविधामा नपरी पुरा तागतका साथ निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।
असहज राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधिनता निकै गम्भिर र जटील परिस्थितिमा गएको अवस्थामा राष्ट्रको एकतालाई मजवुत, राष्ट्रिय स्वाधिनतालाई सुदृढ र देशभित्र भइरहेका विभन्नि शक्तिहरुको चलखेललाई रोक्ने उद्देश्यले विभिनन २६ सानाठूला घटकबीच एकता गरिएको उनले बताए । नेकपामा महत्वपूर्ण व्यक्तिहरु जोडिने क्रम जारी रहेको उनले जनाए । नेकपाले १६४ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार चुनावी मैदानमा उतारेको प्रसंग निकाल्दै निर्वाचनमा कसैसंग पनि तालमेल र समीकरण नहुने दावी गरे । ‘कसैसग तालमेल गर्छ की भन्ने कन्फ्युजन गर्न खोजिएको छ’, उनले भने, ‘पहिलो पटक आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाइयो भनेर जनतामा खुशी छाएको छ । कसैसंग पनि तालमेल र समीकरण हुदैन । हामी एक्लै जनताकोमा गएका छौ ।’
कास्कीमा पार्टीको संगठन खासै बलियो नभए पनि उम्मेदवारको पहलकदमी र पार्टीको एकताले गर्दा उत्साह थपिएर सकरात्मक परिणाम ल्याउन आवस्यक पहल भइरहेको उनले बताए । अहिले नयाँ र पुराना पार्टी भन्ने बहस चलाइएको भन्दै प्रचण्डले कात्तिक १९ मा स्थापना भएको नेकपा नै सबैभन्दा नयाँ, बिचार, एजेन्डा, भिजन र मिसन भएको पार्टी रहेको दावी गरे ।
नेकपाले हिजोमात्र सार्वजनिक गरेको घोषणापत्रले भ्रष्टाचार, सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई समेटेको उनले बताए । ‘राजनीतिक व्यवस्थाको परिवर्तनको बाहक नेकपा भएजस्तै घोषणापत्रले समाजवादतर्फको परिवर्तनबाहक पनि बनाउन खोजेको छ’, उनले भने, ‘हामीहरु हिजोका ठाउँमा छैनौ । नयाँ ठाउँमा आइसकेका छौ । आमत्मसमीक्षा र आत्मालोचनासहित अघि बढेका छौ ।’





