बागलुङ/बागलुङमा बिहिबार भएको विद्यालय भ्यान दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले छानविन समिति गठन गरेको हो ।
बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीको बिद्यालय भ्यान बिहिबार साँझ बागलुङ नगरपालिका–३ हाडेपाखामा दुर्घटना भएको थियो ।
दुर्घटनापछि दुर्घटनामा परेका अभिभावक र सरोकारवाला समेतले सर्वपक्षीय छानविन समितिको माग गरेपछि शुक्रवार सर्वपक्षिय बैठक बसेको हो ।
बैठकले जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख विश्वबन्धु अर्याल संयोजक रहेको समिति गठन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समितिका सदस्यहरुमा यातायात व्यवस्था कार्यालयका मेकानिकल ईञ्जिनीयर सुरेश जैशवाल, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि दल बहादुर थापा, पीडित अभिभावकका तर्फबाट प्रिया किसान र कुशल बोहोरा, बरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिम बहादुर वि.क.रहेका छन् ।

छानविन समितिलाई घटना प्राविधिक त्रुटी पत्ता लगाउने, चालकको योग्यता र वैधानिकता, आचरण र व्यवहार, घटना हुनुमा चालकको जिम्मेवारी भएनभएको, दुर्घटनाग्रस्त सवारीसाधनको यात्रुबहन क्षमता, भविष्यमा उल्लेखित अनुसारको दुर्घटना हुन नदिन, विद्यालय, चालक, विद्यार्थी, अभिभावक र समग्र पक्षको के–कस्तो सुधार÷परिमार्जन हुनुपर्ने हुन्छ ? सो समेतको सुझाव दिनेगरीे जिम्मेबारी तोकिएको छ ।
बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, सरोकारवाला कार्यालय प्रमुख, पिडित परिवारका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल, नीजि तथा आवसीय विद्यालयका प्रतिनिधी, नागरिक समाजका अगुवा, सरोकारवाला प्रतिनिधी सहभागी थिए ।
दुर्घटनामा बिद्यार्थी, चालक र शिक्षिका समेत गरी २५ जना घाईते भएका थिए । एक जना बिद्यार्थीको मृत्यु भएको थियो । घाईतेको धौलागिरी अस्पताल, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केही विद्याथींहरु उपचारपछि घर फर्किसकेका छन् । धौलागिरी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका चालक बिर मगरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।





