सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वतको महाशिलामा गुरुङ भाषाको खेमा लिपी सिकाइँदै

पर्वतको महाशिलामा गुरुङ भाषाको खेमा लिपी सिकाइँदै


  • Dhorpatan News
  • फाल्गुन ३ २०८२, आइतबार

पर्वत/  जिल्लाको महाशिला गाउँपालिका गुरुङ भाषाको खेमा लिपी संरक्षण र विस्तारमा जुटेको छ । यसैक्रममा पालिकाले विभिन्न विद्यालयका २० जना शिक्षकलाई गुरुङ भाषाको खेमा लिपी सिकाउने उद्देश्यले तीनदिने प्रशिक्षण सञ्चालन गरेको छ ।

गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार ९ हजार ८ सय ५७ जनसंख्या रहेको गाउँपालिकामा २० प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । गुरुङ भाषा बोल्ने तर लिपी चिन्न र लेख्न नसक्ने अवस्था देखिएकाले प्रशिक्षणको आयोजना गरिएको उनले बताए । ‘विद्यालयका शिक्षकहरूले सिकेको खेमा लिपी आफ्नो विद्यालयमा गएर विद्यार्थीलाई सिकाउनु पर्नेछ,’ उनले भने, ‘गाउँपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत खेमा लिपीमा प्रकाशित गरेको थियो । देशभरमै खेमा लिपीमा नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका महाशिला नै हो ।’

गुरुङ शिक्षक नभएका विद्यालयबाट चार जना मगर शिक्षकलाई पनि खेमा लिपीको तालिम दिइएको उनले बताए । ‘आगामी वर्ष विद्यालयको स्थानीय पाठ्यपुस्तकमै खेमा लिपी समावेश गरिनेछ,’ उनले भने । अहिले विद्यार्थीहरूलाई हप्ताको एक दिन अतिरिक्त कक्षाको व्यवस्था गरी खेमा लिपी सिकाइने तयारी गरिएको पनि उनले जानकारी दिए ।
अर्को वर्ष मगर भाषाको तालिमसमेत शिक्षकहरूलाई उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । मगर भाषा संकटमा परेकाले पहिले भाषा र त्यसपछि मगर लिपीसमेत सिकाइने अध्यक्ष भुसालले बताए । खेमा लिपीका केन्द्रीय प्रशिक्षक भीम गुरुङले प्रशिक्षण दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->