पोखरा/ पर्वत ठूलीपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा महेश शर्मा लामिछाने निर्विरोध चयन भएका छन् । छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले लामिछानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा गंगा रिमाल, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा शम्भु पौडेल चुनिए । यसैगरी सदस्यहरुमा मिलन सुवेदी, सन्दीप रिमाल, अर्जुन लम्साल, हेम शर्मा ढुंगाना, लक्ष्मी सुवेदी, प्रकाश लामिछाने, होम बहादुर वि.क., राधा सुवेदी र तारा लामिछाने सुवेदी निर्विरोध भए । कार्यसमितिको अवधि ३ वर्षे हुनेछ ।
नवनिर्वाचित अध्यक्ष लामिछानेले पर्वतको कुश्मा नगरपालिका वडा नं. १२, ठूलीपोखरीबाट स्थायी वा अस्थायी रुपमा पोखरा वसोवास गर्ने सवैलाई आवद्ध गराई सुख दुखमा साथ दिने र समग्र ठूलीपोखरीको विकासमा समाजको योगदान रहने प्रतिवद्धता व्यक्त गरे । यसअघि साधारण सभा तथा अधिवेशनको कुनपा– १२ पर्वतका वडाध्यक्ष एवं समाजका पूर्व अध्यक्ष झलकप्रसाद रिमालले उद्घाटन गरेका थिए ।
अधिवेशनका अवसरमा ज्येष्ठ नागरिकहरु हरिप्रसाद लामिछाने, गुरुप्रसाद सुवेदी, नन्दकली सुवेदी र कमलप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सल्लाहकारहरु महेश शर्मा लामिछाने, गोकर्ण सुवेदी, रामप्रसाद आचार्य, ऋषिराम पौडेल, आजीवन सदस्यहरु अनन्तराज लम्साल, बाबुराम सुवेदी र सोविता शर्माले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथिलगायत अन्य वक्ताहरुले ठूलीपोखरीबाट पोखरा आई स्थायी वा अस्थायी वसोवास गर्ने सम्पूर्णलाई समाजमा जोड्ने विषयमा जोड दिएका थिए ।
समाजका अध्यक्ष ठाकुर प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद लामिछानेले स्वागत मन्तव्य दिएका थिए भने सचिव ऋषिराम पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए । सचिव पौडेलले प्रस्तुत गरेको आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र कोषाध्यक्ष शम्भु पौडेलद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को वित्तिय प्रतिवेदन पारित गरिएको थियो ।





