पोखरा / प्रतिनिधि सभा निर्वाचनका लागि मत हाल्ने दिन १७ दिनमात्रै बाँकी छ । अघिल्ला निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गरेपछि शहरबजारदेखि गाउँबस्तीसम्म चुनावी रौनक भिन्दै हुन्थ्यो । बाइक ¥याली, तुल, व्यानर, पर्चापम्प्लेट, माइकिङ, आमसभा र भोजभतेरले गाउँघरदेखि शहरबजारसम्म उल्लासमय हुन्थ्यो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।
गण्डकी प्रदेशमा मुख्य राजनीतिक दलहरुले विशेष गरी पुराना पार्टीले तत्काललाई ठूला सभा, कोणसभा तथा र्यालीको आयोजना गरेका छैनन् । नेपाली कागं्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालै यस्ता कार्यक्रम तय नगरिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने फागुन १० गते पोखरा प्रदेशस्तरीय र जिल्लाहरुमा चुनावी सभाको आयोजना गरिएको जनाएको छ ।
सबै दलका उम्मेदवाहरु यतिबेला घरदैलो अभियानमै व्यस्त छन् । प्रचारशैली बदल्दै डिजिटल मिडियाको प्रयोग बढाइरहेका छन् । विभिन्न कोठे भेला, आन्तरिक तयारी र व्यवस्थापनमा लागेका छन । उम्मेदवारी दर्ता गर्ने दिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र्याली देखेका मतदाताले निर्वाचनको झल्को महसुस गरेका थिए । तर आमसभा, बाजागाजा, र्याली, नाराबाजी केही नसुन्दा चुनाव आएको हो कि होइन अत्तोपत्तो नभएको मतदाताको भनाई छ ।
’ नेपाली कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्माले परम्परागत प्रचार शैलीलाई परिवर्तन गरी घरदैलो, व्यक्तिगत भेटघाटका केन्द्रित रहेको बताए । ‘ठूला सभा, र्याली, प्रदशर्न गर्नुभन्दा सानो कुराबाट परिणाम ल्याउने गरी चुनावी अभियानमा छौ’, सभापति शर्माले भने, ‘ठूला सभा र र्याली प्राथमिकतामा छैन् । भोली केन्द्रिय नेता आउने संभावना भएमा गर्न पनि सकिन्छ । तर हामी घरदैलो र टोल मिटिङमै व्यस्त हुन्छौ ।’
दलहरुले पहिलाजस्तो भाषण गरेर, एकअर्काको बिरोध गरेर भोट पाइने अवस्था नरहेको बुझेका छन् । बरु आफ्ना एजेण्डा मतदातालाई जानकारी गराउनमा उनीहरु व्यस्त छन् । सामाजिक सञ्जालको पनि व्यापक प्रयोग गरेका छन् । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पनि ठूला सभा, र्यालीको योजना नरहेको सुनाए । ‘निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई नै प्राथमिकतामा राखेर अघि बढिएको छ’, अध्यक्ष शर्माले भने, ‘घरदैलो, टोलटोलमा छलफल, भेला र अन्तरक्रिया भइरहेका छन् ।’
उम्मेदवारले व्यक्तिगत र आफ्नो राजनीतिक दलका पालामा भएका विकास निर्माणका गतिविधिबारे सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै घरदैलो अभियानका क्रममा मतदातालाई प्रभावित पारिरहेका छन् । कठिन र छरिएको पहाडी भूगोलमा पनि दल र उम्मेदवारहरु चुनावी प्रचारमा लागिपरेका छन् । आजबाट दोस्रो चरण अझ भनौ औपचारिक रुपमा चुनाव प्रचार अभियान सुरु भएकाले अव कसरी अघि बढ्ने भन्ने विषयमा तय गर्न लागिएको नेकपा गण्डकी संयोजक गायत्री गुरुङले बताइन् । ‘ठाउँठाउँमा सभाहरु गर्ने भनेका छौ, तर तय भने भइसकेको छैन’, संयोजक गुरुङले भनिन् ।
विशेष परिस्थितिमा निर्वाचन हुन लागेको र राजनीतिक दलप्रति उत्साह कम भएकोले योपटक सबैले घरदैलोलाई रोजेको कतिपयको बुझाई रहेको छ । चुनावी दौडानको क्रममा उम्मेदवारले शिर्ष नेतृत्वलाई जिल्ला ल्याएर सभा गर्ने योजनामा पनि छन् । रास्वपाले भने फागुन १० गते पोखरामा प्रदेशस्तरीय सभा राखेको छ । ‘उक्त सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले सम्बोधन गर्ने कार्यक्रम छ’, रास्वपा गण्डकी सभापति राजन गौतमले भने, ‘जिल्लाजिल्लामा पनि सभाको आयोजना गर्ने छौ ।’





