आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्वाचन आचारसंहिता अन्तरक्रियाः पूर्ण कार्यान्वयनमा जोड

निर्वाचन आचारसंहिता अन्तरक्रियाः पूर्ण कार्यान्वयनमा जोड

'प्रभावकारी अनुगमनका लागि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले विशेष ध्यान दिनुपर्ने'


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८२, बुधबार

बागलुङ / आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड दिइएको छ । मंगलबारदेखी दल र उम्मेदवारहरुले औपचारिक रुपमा निर्वाचन प्रचारप्रसारका अभियान सुरुवात गरेपछि आचारसंहिताभित्र रहेर प्रचार गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङले यहाँ आयोजना गरेको कार्यक्रममा राजनीतिक दल लगायत सवैले निर्वाचन आचारसंहिता पालनामा गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्ने बताए ।

प्रजिअ आचार्यले आम मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पत्रकार, सरकारी तथा गैरसरकारी संस्था र व्यवसायी सबैमा आचारसंहिता लागु हुने स्पष्ट पारे। उनले आचारसंहिता विपरीत कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने र उम्मेदवारले उल्लङ्घन गरेमा उम्मेदवारी रद्द हुन सक्ने कानुनी प्रावधान रहेको जानकारी दिए।

सामाजिक सञ्जाललगायतका माध्यमबाट बढी आचारसंहिता उल्लङ्घन भइरहेको उल्लेख गर्दै यसको प्रभावकारी अनुगमनका लागि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले विशेष ध्यान दिनुपर्ने सहभागीहरुले जोड दिए।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आचारसंहिताको आवश्यकता तथा निर्वाचन अवधिमा गर्न हुने र नहुने कामका बारेमा जानकारी दिए । उनले प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुग्ने गरी गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

बागलुङ निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीम सुवेदीले हालसम्म लिखित उजुरी नआएको र मौखिक उजुरीका विषयमा सम्झाइबुझाइ गरिएको जानकारी दिए। उनले निर्वाचन आचारसंहिता स्वयंले आत्मसात् गर्नुपर्ने विषय भएकाले सबै सम्बन्धित पक्ष सजग हुनुपर्ने बताए ।

कार्यक्रममा चुनावी जुलुस, आमसभा, कोणसभा वा भेला निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा निर्वाचनको आचारसंहिता २०८२ को दफा १३ अनुसार आचारसंहिताको पूर्ण पालना गर्न गराउन सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले आग्रह गरे ।

चुनाव लक्षित जुलुस, आमसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगाडि जानकारी गराई प्रशासनबाट अनुमति लिनुपर्ने छ । प्रशासनबाट अनुमति लिनका लागि उम्मेदवार वा दलका अख्तियार प्राप्त अधिकारीले जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत पनि निवेदन दिन सक्ने प्रशासनले जनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचन, नेकपा एमालेका उम्मेदवार हिरा केसी, रास्वपाका शुसिल खड्का राजमोका प्रतिनिधि थानेश्वर गौतम, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य सहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->