सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेवाताल किनारमा बनेका अवैध संरचना १५ दिनभित्र हटाउन महानगरको चेतावनी

फेवाताल किनारमा बनेका अवैध संरचना १५ दिनभित्र हटाउन महानगरको चेतावनी


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ८ २०८२, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिकाले फेवाताल किनारमा हालसालै बनाइएका अवैध संरचना १५ दिनभित्र हटाउन चेतावनी दिएको छ । महानगरपालिकाले आज एक अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन भनेको हो ।

फेवातालको मापदण्ड सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा, महानगरको तर्फबाट फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सिमाङ्कन गर्ने कार्य सम्पन्न भइसकेको महानगरले जनाएको छ । सिमाङ्कन सम्पन्न भइसकेपछि पनि सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दु (तालघर) र सोबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात घर, टहरा लगायतका संरचना निर्माण भएको पाइएकाले यसतर्फ महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको सूचनामा छ ।

‘सिमाङ्कन पूर्व निर्माण भएका संरचनाहरू सर्वोच्च अदालतको आदेश बमोजिम हुने भएकाले तालको उच्चतम विन्दुबाट ६५ मिटर भित्र नयाँ संरचना निर्माण नगर्न÷नगराउन महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ’, सूचनामा भनिएको छ, ‘तर पनि अटेर गरी सिमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।’

तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ भने, हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर तथा सरकारी बाँकी सरह कारबाही हुने सूचनामा छ । साथै, ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण (मुआब्जा पाउने वा दूषित बदर हुने कित्ता) सम्बन्धी कार्य अन्तिम चरणमा रहेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->