आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

न्यू एभरेष्टमा मनोपरामर्श कक्षासहित विद्यालय सञ्चालनको तयारी

न्यू एभरेष्टमा मनोपरामर्श कक्षासहित विद्यालय सञ्चालनको तयारी

विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरुसंग मनोपरामर्श कक्षा सञ्चालन गरेपछि स्कुलमा नियमित पठनपाठनको तयारी गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८२, शनिबार

बागलुङ / जिल्लाको रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, विद्यार्थी र अभिभावक लक्षित मनोपरामर्श कक्षासहित पठनपाठन कार्यलाई सुचारु गर्ने भएको छ ।

गते माघ २९ गते नियमित पठनपाठनपश्चात् विद्यार्थीहरु घर फर्किदा स्कुल बस दुर्घटना भएपछि फागुन १ गतेदेखि बिद्यालय बन्द भएको थियो । पठन पाठन बन्द भएको बिद्यालयमा शिक्षक शिक्षिकाहरुलाई मनोपरामर्श कक्षा सञ्चालन गरेपछि शुक्रवारदेखि खुला गरिएको छ ।

बिद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बागलुङ नगरपालिका र खुशी मन बागलुङको सहकार्यमा विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरुसंग मनोपरामर्श कक्षा सञ्चालन गरेपछि स्कुलमा नियमित पठनपाठनको तयारी गरिएको बताए ।

दुर्घटनाको दुःखद् घडीमा शिक्षक, विद्यार्थी र अभिभावकमा उत्पन्न तनाव एवं मानसिक दबाबलाई सबल तुल्याउन शिक्षक, अभिभावक र विद्यार्थीसंग छुट्टाछुट्टै मनोपरामर्श कक्षा सञ्चालन गर्न लागिएको हो ।

बिद्यालयका अध्यक्ष हरिनारायण गौतमका अनुसार शुक्रवार शिक्षक, शिक्षिका र कर्मचारीसंग मनोपरामर्श कक्षा सञ्चालन गरिएको छ । सो कक्षामा खुशी मन बागलुङका अध्यक्ष तथा मनोपरामर्शदाता नारायण प्रसाद आचार्य र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहजीकरण गरेका थिए । शनिवार अभिभावक र शिक्षक शिक्षिकासंग संयुक्त र आईतवार विद्यार्थीहरुका विचमा मनोपरामर्श कक्षा सञ्चालन गरिने छ ।

सवै पक्षसंग मनोपरामर्श कक्षा सञ्चालन गरीसकेपछि सोमवारबाट विद्यालयमा नियमित पठनपाठन सुरु हुने बिद्यालयका प्रिन्सिपल अधिकारीले बताए ।

शुक्रवार बिद्यालय खुला गरेपछि श्रद्धाञ्जली सभा गरी शोक विदा दिइएको छ । शोकसभामा बोल्दै प्रिन्सिपल कृष्ण अधिकारीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । उनले घाइते बिद्यार्थीहरुको उपचारमा विद्यालयले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्कुल बस दुर्घटनामा एक जना विद्यार्थी अमन बोहोराको घटनास्थलमै र अर्का विद्यार्थी सुजल छन्त्यालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोही अस्पतालमा विद्यार्थी संगम किसानको आइसियुमा र मणिपाल अस्पतालमा सुमित गैरेको जनरल वार्डमा उपचार चलिरहेको र क्रमिक सुधार भइरहेको विद्यालयले जनाएको छ । घाइते भएका चालक र शिक्षिका सहित अन्य सवै विद्यार्थीहरु विभिन्न अस्पतालबाट उपचारपश्चात घर फर्केका छन । उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->