पोखरा/ यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीहरू जिल्लाजिल्लाहरुमा पठाउन थालेको छ ।
प्रधानमन्त्री सुशीला कार्की अहिले निर्वाचनको आवस्यक तयारीबारे बुझ्न देश दौडाहामा छिन् । यसैक्रममा उनी शुक्रबार गण्डकी प्रदेशमा आइन् । मुस्ताङको मुक्तिनाथ मन्दिर पुगिन्, मुस्ताङ र कास्कीको मात्र होइन, प्रदेशकै निर्वाचन तयारी र अन्य अवस्थाबारे बुझिन् । सुरक्षा अधिकारीहरुले मतदाता, उम्मेदवार, मौसमको अवस्था र हिमाली–पहाडी जिल्लाको सुरक्षाबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।
स्रोतहरुका अनुसार निर्वाचनका बेला हिमपात भएमा मनाङ र मुस्ताङका ४५ वटा मतदानस्थल प्रभावित हुनसक्ने सुरक्षा निकायले प्रधानमन्त्रीसमक्ष सुनाएका थिए । गण्डकीमा कूल १२९९ मतदानस्थल रहेका छन् । त्यसमा हिमपात भएमा ४५ वटामा मात्रै हिउँ परेको अवस्थामा असहज हुनसक्ने उनीहरुको भनाई थियो ।
उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिमका लागि यसपटक अन्य निर्वाचन सामग्रीबाहेक हाइ अल्टिच्युडमा खाने औषधि र पोर्टेबल औषधि पनि थप गरिएको छ । प्रधानमन्त्री कार्कीले केही व्यक्तिहरू अझै पनि निर्वाचन भाँड्न सकिन्छ कि भनेर लागिरहेको र त्यसमा सबै सुरक्षा निकायहरू चनाखो हुनुपर्ने बताएकी थिइन् । गण्डकीमा १८ लाख मतदाता, ३१४ उम्मेदवार छन् ।





