पोखरा/ धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीमा आज बिहान भएको बस दुर्घटनामा घाइतेहरूको उद्दार कार्य सकिएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको ग२ख १४२१ नम्बरको बस दुर्घटना हुँदा अन्य २६ यात्रु घाइते भएको धादिङ प्रहरीले जनाएको छ । धादिङका पत्रकार पोषनाथ अधिकारीका अनुसार बस दुर्घटनास्थलमै १७ र एक जना उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । यद्यपी धादिङ प्रहरी प्रमुख एसपी सुमित खड्काले भने मृतकको संख्या १७ र घाईतेको संख्या २७ पुगेको बताएका छन् ।
खड्काका अनुसार घाइतेहरूमध्ये केहीको मलेखुमा, केहीको गजुरीमा र केहीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । आज बिहान करिब १ः३० बजे बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भएको थियो ।





