पोखरा / पोखराबाट काठमाडौं जाँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खस्दा १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
अन्य २५ जना घाइते भएका छन् । घाइतेमध्ये न्यूजिल्यान्डकी नागरिकको मलेखुमा र अन्य २४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीले सञ्चालन गरेको बस आइतबार साँझ ७ बजे पोखराको राष्ट्रबैंक चोकस्थित पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो । बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईका अनुसार पोखराबाट भएको चलानी अनुसार ३५ जना यात्रु चढेको देखिन्छ । त्यसबाहेक बाटोमा थप यात्रु चढे नचढेको कुनै जानकारी नआएको उनले बताए ।
साईका अनुसार बस धनी तनहुँ चापाघाटका ओमकुमार श्रेष्ठ पनि त्यही बसमा थिए । उनी सम्पर्कबिहीन छन् । बसका चालक पनि सम्पर्कमा नरहेको उनले बताए ।





