पोखरा / कास्कीमा आज राति १२ बजेदेखि मादक पदार्थ रक्सी पिउन र बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको र उक्त कारोवार निर्वाचनको अन्तिम मत परिणाम घोषणा नहुन्जेलम्म कायम रहने प्रशासनले जनाएको छ । प्रशासनले निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जनाएका छन् । निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल र सबै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
सूचनाको बर्खिलाप हुने गरी गतिविधि गरेको पाइएमा सुरक्षा निकायबाट सूक्ष्म निगरानी गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।





