पोखरा /नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेक छन् ।
उक्त दिन होली पर्व परेको संगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहसका लागि उनले प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।
‘फागुन १८ गते होली छ । त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ,’ उपसभापति शर्माले भने, ‘सँगै होली खेलौँ । यो कांग्रेसको प्रस्ताव छ । अरू दल राजी हुनुहुन्छ ?’
उपसभापति शर्माले नयाँ खोज्दा देशले निकास पाउँछ कि पाउँदैन भन्ने कुराको ख्याल राख्न मतदातासँग आग्रह पनि गरे । ‘कतिपयलाई लागेको छ नयाँ खोजौँ । नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई झन्डै झन्डै दुई तिहाइ दिएर संसदमा पुर्यायो,’ शर्माले भने, ‘नयाँलाई खोज्दै गर्दा यो देशले २०६४ सालमा जुन गल्ती गर्यो, त्यस्तै गल्ती गर्ने, या २०७० सालमा झैँ विवेक पुर्याउने छनोट गर्नुपर्ने बेला छ ।’
०६४ को नयाँले देशलाई बाटो नदिएपछि २०७०मा कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाएपछि मात्रै देशले दुई वर्षमा संविधान पाएको उनले बताए । ‘त्यसैले अहिले बिलकुल संयमताका साथ बुझ्नुपर्नेछ,’ उनले भने । अहिले देशलाई कसले नेतृत्व गर्ने भन्ने कुरा मूल प्रश्न नभएको पनि उपसभापति शर्माले बताए । ‘मूल प्रश्न सिंहदरबारमा नेतृत्व गरेर २३ र २४ गतेपछिको आँधी हुरी तुफानलाई व्यवस्थित पारेर कसले साम्य पार्न सक्छ भन्ने हो,’ उपसभापति शर्माले भने ।





