पोखरा / यही फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई अक्सिजन र लेक लाग्ने औषधीको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयले शनिवार पोखरामा आयोजना गरेको पत्रकार अन्तरक्रियाका क्रममा यो जानकारी गराएको हो ।
म्याग्दी, गोरखा, मनाङ र मुस्ताङका ३ हजार मिटरभन्दा मािथ उचाईमा रहेका मतदान केन्द्रमा खटिनेका लागि स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिएको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतदानस्थलसम्म पुग्न र सहज रूपमा काम गर्न कर्मचारीलाई गाह्रो नहोस् भनेर ‘पोर्टेबल अक्सिजन क्यान’ तथा लेक लाग्ने (अल्टिच्युड सिकनेस) औषधिको व्यवस्था गरिएको हो ।
प्रदेशमा ३ हजार मिटरभन्दा माथि ५४ वटा मतदान केन्द्र छन् । जसमा मुस्ताङमा २४, गोरखामा १५, मनाङमा १४ र म्याग्दीमा एउटा केन्द्र पर्छन् ।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्ता गाउँ (४४ सय मिटरको उचाई क्रस गरेर जानुपर्ने) र मनाङको नार्पाभूमि गाउँपालिकाको ४२ सय मिटरको उचाईमा रहेको नार र फु गाउँमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने माग रहेको मा हाल मौसम न्यानो हुँदै गएकाले बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमा नै मतदान गर्ने सहमती भएको ढकालले बताए । उनका अनुसार हिमाली क्षेत्रमा जाडो छल्न निस्केका मतदाता फर्कने क्रम सुरु भएको छ ।





