सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा निर्वाचन तयारी अन्तिम चरणमा

गण्डकीमा निर्वाचन तयारी अन्तिम चरणमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८२, शनिबार

पोखरा/ गण्डकी प्रदेशको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले शनिवार निर्वाचन आयोगबाट भएगरेका मुख्य कामको विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार अन्तरक्रियामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

कार्यालयका अनुसार मतपत्रसहितका सबै निर्वाचन सामाग्री प्राप्त भई मतदान केन्द्र अनुसार छुट्टाई वितरणको तयारी भइरहेको छ । यसैगरी जनशक्ति व्यवस्थापन अन्तर्गत कर्मचारी खटनपटनको काम, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम सम्पन्न भएको, चुस्त सुरक्षा प्रवन्ध मिलाइएकोलगायत कामहरु भइरहेको छ ।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन । सबैभन्दा बढी कास्कीमा १८ र सबैभन्दा कम मनाङमा ३ दलले उम्मेदवारी दर्ता गरेको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए । प्रदेश भर २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका र उनीहरुका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

कास्की जिल्लामा ३ लाख ८ हजार ५७२ मतदाता रहेका छन् । यस जिल्लामा ४४ पुरुष र ५ महिला गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाभर १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित बनाउन चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको जनाइन् । कास्कीका मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएर ३ जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको र अन्यको हकमा अनुसन्धान भइरहेको उनको भनाई छ । मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ बनाइएको छ ।

निर्वाचन आचारसंहिता पालना गराउन पनि कडाइ गरिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले बताए । कास्कीमा लिखित उजुरी नपरे पनि मौखिक सूचनाका आधारमा ठूला झण्डा हटाउने, भोजभतेर रोक्ने र २५ जनाभन्दा बढीको जुलुसलाई नियन्त्रण गर्ने काम भएको छ । सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने र आचारसंहिता विपरीतका सामग्री राख्नेलाई ‘इन्फर्मेसन इन्टिग्रिटी युनिट’ मार्फत निगरानी गरी हटाउन लगाइएको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->