गोरखा/ संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ ।
इरानले गरेको ड्रोन आक्रमणमा परी भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ठाँटीका दिवस श्रेष्ठको निधन भएको हो । श्रेष्ठको निधनको खबर परिवारका सदस्यहरूले अबुधावीस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गरेपछि सोमबार बिहान मात्र थाहा पाएका थिए ।
२९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए । श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ । दिवससँग पछिल्लोपटक उनका बाबु चामबहादुरले शनिबार बेलुका भिडियो कलमा कुरा गरेका थिए । आइतबार भने छोराका साथीबाट मोबाइल हराएको र भागदौडमा छोराको खुट्टामा चोट रहेको सम्मको खबर उनको कानमा परेको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले श्रेष्ठको निधनबारे वडा अध्यक्षमार्फत जानकारी गराएपछि भने अहिले ठाटीँ गाउँ शोकमा डुबेको छ । स्थानीयहरू चामबहादुरको घरमा भेला भएका छन् । दिवस पछिल्लोपटक एक वर्षअघि दसैं मनाएर रोजगारीका लागि मिडल इस्ट कम्पनीमार्फत सेक्यूरिटी गार्डको रुपमा दुवई पुगेका थिए । सरस्वती माविमा माध्यमिक तहको पढाई पूरा गरेपछि ४ वर्ष अघिबाट उनी रोजगारीका लागि दुवई आउजाउ गर्दै आएका थिए । उनले अबको छुट्टीमा आउँदा विवाह गर्ने परिवारमा सल्लाह भएको थियो । छिमेकी तथा भिमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार चामबहादुरका एक छोरा र एक छोरी छन् । दिवसको आमा छोरी भेट्न काठमाडौं गएकी छन् । घरमा हजुरआमा पनि छन् ।
अवुधावीस्थित नेपाली दुतावासले परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने जनाएको छ । युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो । अन्य मृतकमा बंगलादेशी र पाकिस्तानी नागरिक एक–एक जना रहेका छन् । संवेदनशील परिस्थितमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ । साथै, युएई सरकारले जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्न समेत दूतावासले अनुरोध गरेको छ ।






