सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीका २ हजार ३९६ मतदान केन्द्रमा मतदान हुँदै

गण्डकीका २ हजार ३९६ मतदान केन्द्रमा मतदान हुँदै

मतदाताको बाटो छेकेमा २५ हजार जरिवाना तिर्नुपर्नेछ । ‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार

पोखरा/प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आज मतदान हुँदैछ । गण्डकी प्रदेशका ११ जिल्लामा नै मतदान हुँदैछ ।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा बढी कास्कीमा १८ र सबैभन्दा कम मनाङमा ३ दलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशभर २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका र उनीहरूका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

भौतिक संरचना कम्जोर, मतदान सम्पन्न गराउने हुटहुटी
पोखरा १८ मेथलाङस्थित रत्न आधारभुत विद्यालयमा १४ सय मतदाता छन् । दुई वटा मतदान केन्द्र रहेको रत्न आधारभुत विद्यालयको भौतिक संरचना निकै जीर्ण छ । त्यहाँ खटिएका कर्मचारीले स्थानीयसंग विभिन्न सामग्री मागेरै मतदानस्थल तयार पारेका छन् ।

उक्त विद्यालयको मतदान केन्द्र ‘क’ को मतदान अधिकृत अमृता सिग्देलले आफुहरु मतदानका लागि तयारी अवस्थामा रहेको सुनाउँदै भौतिक संरचना निकै जीर्ण रहेको गुनासो पोखिन् । पोखराको बजार देखी करिब ३ किलोमिटरको दुरीमा त्यस्तो अवस्था हुनु निकै दुःखद् हो । सिग्देलले आवश्यक पर्ने सामग्री मागेर ल्याएको बताइन् ।

‘यो केन्द्रमा १८ गते बेलुका सागम्रीहरु लिएर आयौं । भौतिक संरचना अलि कम्जोर देखियो । यहाँ केही थिएन सबै मागेरै ल्याएका छौं’ उनले भनिन, ‘अहिले मतदानका लागि मतदानस्थल तयार गरिसकेका छौं । सर्वदलीय बैठक बस्नेदेखी स्वयम सेवक नियुक्ति र दलका प्रनिधि नियुक्तिका कार्य गरिसकेका छौं ।’

सोही मतदान स्थलको केन्द्र ‘ख’ मा खटिएका नरहरि ढुंगानाले पनि सोही गुनासो गरे । निर्वाचनका लागि निर्वाचन आयोगबाट आवश्यक सामग्री ल्याएर मतदान स्थल पुग्दा अवस्था साह्रै नाजुक रहेको उनले सुनाए ।

‘अवस्था साह्रै नाजुक देखियो । कुनैपनि भौतिक संरचना थिएन । अर्को विद्यालय जनजागृतिबाट केही सामानहरु लिएर आयौं र वरिपरिका रिसोर्ट र गाउँलेहरुसंग समेत भएका सामानहरु मागेर काम सुरु ग¥यौं’ उनले भने, ‘हामीले नियमित गर्नुपर्ने काम १८ गते नै गरेका थियौं । त्यसपछि अन्य कामहरु पनि गरेका छौं । पोखराभित्रकै यो अवस्था देख्दा निकै दुःख लाग्यो ।’

बुधबार सबै काम सकाएको उनले बताए । उक्त स्थानमा सुरक्षाकर्मी, कर्मचारी गरि २७ जना खटिएका छन् । उनका अनुसार १ हजार चार सय ४८ जना मतदाता रहेका छन् ।

मतदाताको बाटो छेके २५ हजार जरिबाना
मतदाताको बाटो छेकेमा २५ हजार जरिवाना तिर्नुपर्नेछ । ‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ । मतदाताले पनि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन । निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा वा बिगार गरे ६ महिना कैद
यसैगरी मतदानका लागि मतदाता नामावलीमा नाम हुनु आवश्यक छ । निर्वाचन आयोगका अनुसार, सकेसम्म मतदाता परिचय पत्र लिएर मतदान गर्न जानुपर्छ । मतदाता परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा अन्य सरकारी कागजपत्र देखाएर पनि मतदान गर्न पाइन्छ । तर, कसैले अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा गर्ने वा बिगार्ने कार्य गरेको रहेछ भने त्यस्तो कार्य दण्डनीय हुनेछ ।

निर्वाचन आचासंहिता अनुसार मतदातालाई मतदानबाट बञ्चित गर्न हुँदैन । आयोगका अनुसार, कसैले पनि मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख, बिगार्न वा खरिद गर्न हुँदैन ।

यस्तो कार्य गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई ६ महिना कैद वा २५ हजार जरिबाना वा दुवै सजाय हुन सक्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->