पर्वत/आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गर्ने क्रममा देशको पूर्वी क्षेत्रमा रहेको बेला अचानक मन्त्री बन्ने मौका डा. महावीर पुनलाई मिल्यो । जेनजी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका पुन फागुन २१ गतेको निर्वाचनमा होमिए । मन्त्री पदबाट राजीनामा दिएर सांसदको दौडमा म्याग्दी हानिएका उनी चुनाव जितेपछि अब केही दिनका लागि फुर्सदिला जस्तै भएका छन् ।
चुनाव प्रचारप्रसार सँगसँगै आफ्नो किताब बिक्री गर्ने तयारीमा पुन थिए । तर निर्वाचन आयोगले आचारसंहिता लागू भएको अवस्थामा किताब बिक्री गर्न नदिएपछि उनले किताब बेच्ने काम बन्द गरे । चुनाव प्रचारप्रसारकै क्रममा किताब बिक्री गर्ने योजना अनुसार उनले किताबहरू लिएरै म्याग्दी पुगेका थिए ।
आफूले मन्त्री पद सम्हालेको बेलामा शिक्षामा केही परिवर्तनका लागि योजनाहरू ल्याएको भए पनि विभिन्न पक्षहरूबाट असहयोग भएकोले काम गर्न नसकेको उनले बताएका थिए । शैक्षिक सुधारका लागि थालिएका प्रयासहरू पूरा हुन नदिएकाले बरु चुनावमा लडेर, प्रतिनिधि सभा सदस्य भएर आएपछि केही गर्न सक्छु भन्ने सोचले चुनावमा होमिएका उनले चुनाव पनि जिते ।
निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतान्तरले महावीर विजयी बने । पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दा नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत र नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६ सय ७६ मत पाए । नेकपाका अर्जुन थापाले ३ हजार ५ सय २९ र रास्वपाका युवराज रोकाले १ हजार ५ सय ३० मत प्राप्त गरे ।
आफू निर्वाचित भएको प्रमाणपत्र समेत बुझेर केही समय अलि फुर्सदमा रहेका पुनले आफ्नो आत्मकथाको किताब बेच्ने पुरानो कामलाई भने फेरि निरन्तरता दिने गरी दौडधुप सुरु गरेका छन् । उनले सोमबार पोखराका ३ स्थानमा पुगेर पुस्तक बिक्री गरे । वीरगन्जको कृषि औजार कारखाना मज्जाले चलिरहेको र त्यसका लागि पैसा आवश्यक पर्ने भएकोले प्रतिनिधि सभा सदस्य बनेपछि पनि उनले आफ्नो पुरानो कर्मलाई निरन्तरता दिएका छन् ।
यसैबीच महावीर पुनले पोखराको सडकमा आफ्ना किताब बिक्री गर्दै गर्दा एक व्यक्तिसँग भनाभन भएको छ । घटनाका क्रममा ती व्यक्तिले पुनमाथि अभद्र व्यवहार गर्दै थुकेको भिडियो सार्वजनिक भएको छ ।
पुनले मंगलबार बिहान अंमरसिह चोकमा किताब बिक्री गरेका थिए भने दिउँसो पृथ्वीचोकमा किताब बेचिरहेका थिए । सोही क्रममा एक अपरिचित व्यक्तिसँग उनको विवाद भएको हो ।
भिडियोमा ती व्यक्तिले पुनलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईंको काम किताब बेच्ने होइन नि । जनताले के भनेको छ ? के मागेको छ ?’ जवाफमा पुनले भनेका छन्, ‘किताब बेचेर कारखाना बनाउन हो। जनताले मागेको पनि यही हो ।’





