बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आगामी सरकारलाई सुझावसहित शुभकामना

आगामी सरकारलाई सुझावसहित शुभकामना


  • डा. नरनाथ पाण्डे
  • फाल्गुन २७ २०८२, बुधबार

जेन्जी आन्दोलनपछि यतिबेला नेपालमा ऐतिहासिक निर्वाचन सम्पन्न भएर मत परिणाम पनि करिब आइसकेको छ । यतिबेला देखिएको परिणामले नेपाली जनताले चाहेको अवस्था प्राप्त भएको महसुस् भएको छ । परिणाम अनुसार इतिहासमै नदेखिएको, नभोगिएको, अनुमान नगरिएको, स्वयम् रास्वपाले पनि नसोचेको र रेकर्ड ब्रेक गर्नेगरी आएको जनताको दुई तिहाइको एकदलिय समर्थन सायदै अबका दिनमा देख्न पाइएला । यस्तो मतको ओइरो मेचीदेखि महाकालीसम्म नै फैलिएको देखियो । यो सबै हुनुमा पुराना भनिएका सबै दलहरूको घमण्ड, अहङ्कार, भ्रष्टाचार, अत्याचार, दुराचार, फुटजुटको राजनीति, अप्राकृतिक गठबन्धन, परिवारवाद, भनसुनवाद, स्वार्थीपन, विश्वासघात र निरंकुशतावाद एक कारण हो भने पुराना दलहरूको वाक्कलाग्दो वा भनौं उकुसमुकुस शासन सञ्चालन दोस्रो र छोटो समयमै युग सुहाउँदो काम गरी प्रसिद्धि कमाएका नेपाली आमाका सुपुत्रका रुपमा उदाएका दुई हस्ति रवि र बालेनको उदय, आत्मविश्वास, देश बनाएरै छाड्ने अठोट र जनताप्रतिको समर्पण नै तेस्रो कारण हो । सर्वप्रथम रवि बालेन तपाईंहरूले जनताको विश्वास सहित अमूल्य मतका आधारमा देशकै तालाचाबी सहित निकै महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी सम्हाल्न थाल्नुभएको यो पाँचवर्षे कार्यकाल सुनौला अक्षरले इतिहास लेखिने गरी सफल होस् र तपाईं दुईको सम्बन्ध जुगौंजुगसम्म जाओस् भन्ने शुभकामना दिन चाहन्छु ।

वास्तवमा नेपाली जनताले एक्काइसौं शताब्दीको अन्तसम्म आउँदा पनि कहिल्यै सुख, सुविधा उपभोग गर्न र सन्तोषको सास फेर्न पाएका छैनन् । शिक्षाको उज्यालो घामबाट वञ्चित रहँदै अहिलेको प्रविधिको युगमा पनि राम्रो बाटो देख्न पाएका छैनन्, घुस नखुवाई काम गराउन पाएका छैनन्, पढेर उच्च स्तरको डिग्री हासिल गरेर पनि योग्यता अनुसारको काम गर्न पाएका छैनन्, जग्गा जमिन भएर पनि सिंचाइँको अभाव भएर र मल नपाएर खेती लगाउन पाएका छैनन्, शारीरिक श्रम मेसिनले गर्ने जमानामा पनि त्यस्तो देख्न र राम्रोसँग सुन्न समेत पाएका छैनन् भने उपभोगको कुरा त टाढाको कुरा भयो । सामान्य रोग लाग्दा पनि रोगको परीक्षण गर्न, रोग थाहा पाउन र औषधी उपचार गर्न पनि चर्को मूल्य तिर्नुपर्ने हुँदा मर्नुबाहेक अरु विकल्प पाएका छैनन् । परम्परागत विषय भन्दा बाहिर गएर अरु नै विषय पढ्नुप¥यो भने नेपालमा छैन, विदेश गएर पढ्न सम्भव छैन र भइहालेका पनि निकै चर्को शुल्क तिर्नुपर्दा प्रायः असम्भव देखिन्छ । देश रेमिट्यान्सले वामे सरिरहेको छ, उठेको राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि पुग्दैन, देशमा खाद्यान्न अभाव छ र भारतको परनिर्भर पर्नुपरेको छ । पेट्रोलियम पदार्थको पर्याप्त सम्भावना भएर पनि उत्पादन छैन, बाहिरबाट आयात गर्नुपर्छ, एउटा सियोसम्म नेपालमा बन्न सक्दैन, दैनिक भान्सामा प्रयोग हुने लगभग सबै खालका खाद्यपदार्थ सबै बाहिरबाटै ल्याउनुपर्ने बाध्यता छ । देशमा एउटा पनि उद्योगधन्दा र कलकारखाना छैनन् । राणा र राजाका पालामा बनेका दुई चारओटा उद्योग पनि दलका नेताहरूका कारण बेचिएका छन् । बेच्न बाँकी रहेका उद्योग चलेका छैनन् र जीर्ण भई उद्वारको पर्खाइमा छन् । कहिल्यै कसैको गुलाम नबनेको देश र सधैं स्वाभिमानी भनेर चिनिएका नेपाली विदेसिएर अरुकै देशमा गएर तुच्छ प्रकारका लाञ्छना र भेदभाव खेप्दै मजदुरी गर्नुपरेको छ भने कोही उतै लुटिएका छन्, विदेसिएका जति सबै सग्लो फर्कने सम्भावना छैन, दिनहुँ बाकसमा बन्द भइ फर्कनु परेको छ । यता मर्दा पर्दा बिरामी बोक्ने र मलामी जाने जनशक्तिको कमी छ, घरमा बुढा भएका बाबुआमा मात्र आँगनमा छोराछोरीको बाटो हेर्दै दिन बिताइरहेका छन्, सधैं त्रासमा बाँचिरहनु परेको छ । देशमा भएका जग्गा जमिन सबै बाँझो भइसकेका छन्, खेतीपाती गर्ने मान्छे छैनन्, प्रविधि छैन, मल छैन, बिउबिजन छैन, चर्को कामदारको शुल्क रहेको छ, बल्लतल्ल भएको खेती प्राकृतिक प्रकोपले वित्यास पार्छ । देशभित्र रहेका जमिन, जङ्गल, जनशक्ति कुनै काम लागेका छैनन्, विदेशीको ईशारा, नियम र नियन्त्रणमा चलेका छन् । खोलामा बगेर खेर गएको बालुवा, गिट्टी र ढुङ्गा उठाउन पाईंदैन, प्राकृतिक सम्पदा संरक्षण भनिन्छ, स्रोतको सदुपयोग गर्न नपाउँदा विशाल जङ्गलमा रहेका काठ र वनपैदावार त्यत्तिकै खेर गइरहेका छन्, नाङ्गा डाँडाकाँडाहरू खिस्रिक्क दाँत देखाएर हाँसिरहेका छन्, त्यसलाई चलाउन पाईंदैन, त्यहाँभित्र रहेका अमूल्य ढुङ्गा, खनिज, चुन तथा बहुमूल्य धातुहरू त्यत्तिकै खेर गइरहेका छन् र सदुपयोगमा ल्याउन सकिएको छैन । एउटा बाटो र पुल बनाउन विदेशी गुहार्नु परेको छ भने अरु निर्माणका लागि त ठुला शक्ति राष्ट्रहरूसँग भिख माग्नुपर्ने अवस्था छ । देशभित्र अपार जलस्रोत छ तर त्यसलाई सदुपयोग गर्न र विद्युत् निकाल्न स्रोत साधनको कमी छ । प्रकृतिले दिएको सुन्दर देश जुन स्थानको अवलोकन मात्र गराउन सके पनि ठुलो संख्यामा पर्यटक भित्रने र अपार वैदेशिक मुद्रा आर्जन हुने सम्भावना छ तर त्यो पनि आन्तरिक द्वन्द्व र राजनीतिक खिचातानीका कारण हुने अव्यवस्थाले गर्दा सम्भावनामा मात्रै सिमीत रहेको छ । यी र यस्तै खालका गन्थनहरू नेपालका सही अवस्था हुन् । अब बन्ने बालेन रविको सरकारले यस्ता समस्याहरूमाथि ध्यान देला कि नदेला ?

रवि बालेनज्यू, मैले यस आलेख मार्फत यो शुभकामना दिइरहँदा तपाईंहरूलाई आफ्नो कार्यकाल सफल बनाउनका लागि केही सूत्रहरू पनि दिएको छु, यसलाई अक्षरसः नसके पनि अधिकांश काम सुझाव अनुसार कार्यान्वयन गर्नुभएमा यहाँहरूको नाम र पार्टी नै नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिनेमा दुईमत नहोला ।

१. यहाँहरूले २००७ सालपछि जेन्जी आन्दोलन वा भनौं हालसम्म जनताले चाहेजस्तो नेपाल बनाउन कसैको अवरोध बिना स्पष्ट काम गर्नसक्ने गरी पाउनु भएको जनमत र जिम्मेवारीलाई ऐतिहासिक जिम्मेवारी हो भन्ने ठानी आगामी पाँच वर्षमा आफ्नो चुनावी बाचापत्रमा राखिएका प्रत्येक अक्षर र शब्दहरूको एक एक गरी पालना गर्दै काम गर्न सपथ खाएकै दिनदेखि सुरु गर्नुहुनेछ ।

२. तपाईंहरूमा दम्भ, घमण्ड, अहङ्कार, भ्रष्ट सोच र स्वार्थीपनले पटक्कै स्थान नपाओस् र दिनरात नभनी सदा देश र जनताका लागि समर्पित भई कसैको मुख नहेरी एकोहोरो तरिकाले व्यस्तमस्तका साथ काम गर्नुहुनेछ ताकि चुनावी दौरानमा जस्तै पाँच वर्ष कसरी बितेछ भन्ने पत्तै नपाइयोस् ।

३. विदेसिएका नेपाली दाजुभाइ, भ्रष्टाचारबाट आजित भएका जनता, शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट वञ्चित भएका वा संसारकै महङ्गो शुल्क तिरेर पढ्न बाध्य भएका विद्यार्थी, मल–बीउ–बिजन–सिंचाइको सुविधा नपाइ छटपटिएका र जमिन बाँझै भएका कृषक, भ्रष्ट र टोलपिच्छै रहेका नेताहरूको सेवा गर्दागर्दा वाक्कदिक्क भएका संसारकै सबैभन्दा कम सेवा सुविधामा काम गरिरहेका र मनोबल खस्किएका शिक्षक तथा राष्ट्रसेवकहरू, खानी–उद्योग–कलकारखानाको अभावमा काम विहिन भएका नेपाली मजदुर र वौद्धिक वर्गहरूलाई उकास्न र गलत खालको राजनीतिक संस्कार बसाल्न उद्धत फटाहाहरूको सदाका लागि पसल बन्द गर्दै प्रत्येक नेपालीको मुहारमा हाँसो ल्याउन मेहनतका साथ दिनरात काम गर्नुभइ आगामी पचासौं वर्षसम्म निरन्तर सत्तामा रहेर जनताको सेवामा लाग्ने अवसर लिने गरी काम गर्नुहुनेछ ।

४. नेपालका दल र सरकारप्रति जनताको भरोसा टुटेको धेरै भइसकेको, धेरै शहीदका रगतले माटो भिजिसके तापनि अझै चाहेजस्तो बदलाव नआइसकेको, नेपालको अस्तित्व नै रहने नरहने द्विविधा भइरहेको र उत्तर आधुनिक युगसम्म आइपुग्दा पनि विकासको महसुस् गर्न नसकिरहेको यो अवस्थामा तपाईँहरूको सरकार बन्ने सौभाग्य मिलेको छ, यदि यसलाई अधिकतम सदुपयोग गर्दै न्यायिक सुशासन र विकासमा अग्रसर भई लाग्नुभयो भने जनताको मन पुनः फर्कने र समग्रमा लोकतन्त्रकै आयु बढ्ने हुँदा जनताको प्रधानमन्त्री र जनताको सरकार बनेको महसुस् हुनेगरी काम गर्नुहुनेछ । संसद भित्र र बाहिर रहेका राजनीतिक दलहरू सबैलाई समेट्दै, जनमतको यो परिणामबाट अहङ्कारी बनेर होइन कि संयमित भएर सबैलाई सम्मान गर्दै, राजनीतिक सहमतिका आधारमा कतिपय दीर्घकालिन निर्णयहरू र संविधान संशोधन जस्ता महत्वपूर्ण निर्णयहरू गर्नुहुनेछ । यसका लागि अहिलेदेखि नै दीर्घकालिन लक्ष्यलाई ध्यान दिई बालेनलाई सरकारको सम्पूर्ण जिम्मेवारी दिने (अनावश्यक हस्तक्षेप नगर्ने) र पार्टीको कमाण्ड रविले लिनेगरी काम गर्नुहुनेछ ताकि तपाईंहरू, तपाईंको दल, र नेपाली जनता सबैको भलो होस् । तपाईंहरुको निकट भविष्यमा बन्दै गरेको सरकार उदाहरणीय बनोस् शुभकामना । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->