
पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही चैत ८ गते आइतबारदेखि सुरु हुने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत ८ गते दिउँसो १ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनका आव्हान गरेका हुन् ।
प्रदेश सभा बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल, मालेपाटन, पोखरामा हुने छ । गण्डकी प्रदेश सभा सचिवालयले आज एक सूचना प्रकाशित गरी यो जानकारी दिएको हो । प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार हिउँदे अधिवेशनको पहिलो बैठकका लागि दैनिक कार्यसूची चैत ७ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्नेछ ।





