पोखरा/शुक्रबार, पोखरा १० बुद्धचोककी सुम्निमा (नाम परिवर्तन) जिल्ला प्रहरी कार्यालय पुगिन् । बैंक खाताबाट अचानक ३ लाख ६ हजार रुपैयाँ सकियो । उनको खाताको रकम नारायणघाटकी विपिका तामाङ र धरानकी आस्था राईको खातामा पुग्यो ।
आफू ठगिएको उजुरीसहित उनी प्रहरीकहाँ पुगेकी हुन् । सुम्निमाले इन्स्टाग्राममा एलिगेन्टली नेपाल नामक आइटीमा महँगो कुर्ता तीन हजार ६ सय रुपैयाँमा देखिन् । अनलाइन अर्डर गर्नुपर्ने भएकाले उनले रकम क्युआर गरेर अर्डर गरिन् । कुर्ता आएन, उल्टै भएको रकम पनि सकिएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
यस्तै, गत साउनमा पोखरा १९ का एक पुरुषको मोबाइलमा कनेक्ट आइपिएसको पासवर्ड परिवर्तन गराउन भन्दै बारम्बार नोटिफिकेसन (सन्देश) आयो । उक्त नोटिफिकेशनलाई क्लिक गरेर पासवर्ड परिवर्तन गर्दा उनको २५ लाख रुपैयाँ झ्वाम भयो । उनी साउन ५ गते आफू ठगिएको भन्दै प्रहरी कहाँ पुगे । यस्तै, गएको मंसिरमा प्रहरीकहाँ अर्को घटना आयो। फेसबुकमा अनलाइन व्यवसायका लागि लगानी गर्न भन्दै आएको विज्ञापनबारे बुझ्दै जाँदा ह्वाट्सएप नम्बरमा कुराकानी भयो । सुरुमा सय–दुई सय रुपैयाँ लगानी गर्दा राम्रै बोनस आयो। त्यसपछि रकम बढ्दै गयो, बोनस थपिँदै गयो। ती पुरुषले एकै पटक १० लाख रुपैयाँसम्म कारोबारसमेत गरे। त्यसरी उनले एक करोड २५ लाख रुपैयाँ डुबाए । यस्तै, पोखरा ८ का (नाम खुलाउन नचाहेका) एक पुरुष अनलाइनमा क्यानडा जाने विज्ञापन हेर्दा नराम्ररी फसे ।
सरदार जगमोहन सिंह नामक फेसबुक आइडी भएका अपरिचितले क्यानडाको विज्ञापन देखाए। उनीहरूको कुराकानी भयो। म्यासेन्जरमा कुराकानी हुँदै ह्वाट्सएपमा कुराकानी हुन थाल्यो । क्यानडाका लागि फ्रि भिषा र फ्रि टिकटमा राम्रो रोजगारी पाउने लोभमा उनी मख्खिए । फेक अफर लेटर देखाएर उनलाई बाँकी प्रक्रियाका लागि चार लाख रुपैयाँ मागियो । उनले केही नसोची रकम हालिदिए । त्यसपछि उनले पटकपटक रकम पठाउन थाले । उनले सुरुमा १५ हजार रुपैयाँ बुझाए, त्यसपछि बढेर २५ हजार पु¥याइयो। फेरि ४० हजार गर्दै उनले ४८ लाख रुपैयाँ बुझाए । तर, माग्नेले रकम माग्न छाडेनन् । आफू ठगिएको भन्दै उनी पनि प्रहरी कहाँ पुगे ।
यस्तै, विदेशमा धनाढ्य व्यक्तिको मृत्यु भएको र बैंकमा ठूलो रकम रहेको भन्दै मेलमा आएको सूचनाबाट पोखरा ५ का एक व्यक्तिको एक करोड ६२ लाख डुब्यो। यी प्रतिनिधि घटना मात्रै हुन् । अहिले कास्की प्रहरीमा यस्ता घटना दैनिक ५ देखि २५ वटासम्म आउने गरेका छन् ।

प्रहरीले साइबर अपराधको मुद्दाका लागि छुट्टै कक्ष नै खडा गरेको छ, जहाँ दैनिक ठगीका घटनाहरू आउने गरेका छन् । विशेषगरी महँगा सामान सस्तोमा बिक्री भन्दै अनलाइन अर्डर, घरमै रोजगारीको अवसर, उपहार तथा अनलाइन बिजनेस लगानी जस्ता कुराहरूमा नागरिक ठगिन थालेका छन् । कास्की प्रहरीमा अहिले सबैभन्दा बढी अनलाइन सामान अर्डर गर्दा ठगिएको घटना हुन थालेका छन् । ‘इन्स्टामा एलिगेन्टली नेपालमा ३ हजार ६ सय रुपैयाँको कुर्ता देखेँ, राम्रो लागेर अर्डर गरेँ । कुर्ता आएन, पछि रकम होल्ड भयो भनेर कुरा भयो, मलाई पनि के भयो भयो, स्क्रिन सेयर गरेँ’ सुम्निमाले भनिन्, ‘पहिला स्टेटमेन्टमा जानु भन्नुभयो। त्यसपछि भनेअनुसार गर्दै गएँ ।
एउटा कोड हाल्नुस् भनेर दियो, त्यो हालेपछि सबै पैसा गयो। म सँगै अर्को एकजनाको पनि ४० हजार त्यसरी नै गयो।’ पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा अनलाइन ठगी बढ्दो क्रममा देखिएको छ ।
आ.व २०८०÷०८१ मा ६५१ निवेदन परे । जसमा कुल ८ करोड ७९ लाख ८३ हजार ९४७ रुपैयाँ ठगी भयो। जसमध्ये २ करोड, १९ लाख ७७ हजार ७१४ रुपैयाँ रकम फिर्ता गराउन प्रहरी सफल भयो । उक्त आर्थिक वर्षमा सबैभन्दा बढी फेसबुकबाट ठगी भएको देखिएको छ । फेसबुकमा आउने स्क्यामबाट ३६३ ठगीका मुद्दा थिए । यस्तै इन्स्टाग्रामबाट १०५, ह्वाट्सएपबाट १००, टिकटकबाट ३५, टेलिग्रामबाट ३, ओटीपि कोड मागि ५०, वैदेशिक रोजगारको नाममा ४५ घटना भए । यी घटना जिल्ला प्रहरी कार्यालयसम्म आइपुगेका घटना मात्रै हुन् । यस्तै, ०८१÷०८२ मा त्यो बढेर ९४७ पुगेको छ । यो दर्ता भएका निवेदनको संख्या हो । ०८१ मा ठगी रकम दोब्बर देखिएको छ ।
कास्कीमा मात्रै कुल १७ करोड १८ लाख ३१ हजार २०५ रुपैयाँ ठगी भयो, जसमध्ये १ करोड ६० लाख २२ हजार ९२० रुपैयाँ प्रहरीले फिर्ता गराउन सफल भयो । सबैभन्दा बढी फेसबुकको प्रयोग गरी ठगी भएको देखिन्छ । फेसबुकबाट ३०३, ह्वाट्सएपबाट १४८, इन्स्टाग्रामबाट १२६, टिकटकबाट १११ र टेलिग्रामबाट ९७ ठगिएको तथ्यांक छ ।
यस्तै, चालु आर्थिक वर्षमा यो संख्या झन् बढ्ने देखिएको छ । फागुन मसान्तसम्मको तथ्यांक हेर्दा ८५६ निवेदन दर्ता भएका छन्, जसमध्ये ३० वटा मुद्दा नै दर्ता भएका छन् । यस वर्ष टिकटकबाट बढी ठगिएको देखिएको छ । टिकटकबाट २३३, फेसबुकबाट १९०, ह्वाट्सएपबाट ११२, टेलिग्रामबाट ६९ ठगीका घटना भएको प्रहरीको तथ्यांक छ । १४ करोड, २६ लाख ८३ हजार २२९ रुपैयाँ ठगी भएको छ भने १ करोड २५ लाख ४ हजार ७२४ रुपैयाँ फिर्ता गरेको स्थिति रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा साइबर अपराध सम्बन्धि मुद्दा हेर्दै आइरहेका प्रहरी निरिक्षक गणेश पाण्डेका अनुसार अहिले सबैभन्दा बढि अनलाइन सपिङको नाममा ठगी हुँदै आइरहेको छ । उनका अनुसार पहिला सामाजिक सञ्जालमा प्रलोभनमा पार्ने किसिमका सामान विक्रिका लागि राखिन्छ । महँगो सामान सस्तोमा देखाइन्छ । त्यसपछि अर्डर गर्नुपर्ने हुन्छ । अर्डर गर्दा सामान लिएपछि रकम दिएर हुँदैन । पहिला रकम दिनुपर्ने हुन्छ । रकम हालिदिएपछि सामान आउँदैन। नआएपछि फोन गर्दा रकम नआएको भन्ने जवाफ दिन्छन् र होल्ड भएर बसेको भन्दै स्क्रिन सेयर गर्न लगाउछन् । कसैले ओटिपी कोड माग्ने गर्छन्। स्क्रिन सेयर गर्दा उनीहरुले ह्याक गर्ने गरेको प्रहरी निरिक्षक पाण्डेको भनाइ छ ।
‘अहिले सबैभन्दा बढी समस्या अनलाइन सपिङ देखिएको छ । सामान अर्डर गर्छन्, रकम हालिदिन्छन्, त्यसपछि सामान आउँदैन, नआएपछि स्क्रिन सेयर गर्ने गर्दछन् र ओटीपी माग्ने गर्छन्’ उनले भने, ‘यसमा एक जनाको धेरै रकम जाँदैन २ हजार देखी तीन–चार हजारसम्म जान्छ’ उनले भने, ‘त्यसपछि खातामा भएको सबै रकम उतैबाट निकाल्छन्। यो ह्याक गर्ने क्रम निकै बढ्दो देखिन्छ ।’ यसबाट थोरै रकम तर, धेरै मानिस फसिने गरेका छन् । पाण्डेका अनुसार अनलाइन अर्डर गर्दा किनेको सामान प्राप्त गरेपछि मात्रै रकम दिन आग्रह गर्छन् । बढ्दो डिजिटल प्रविधिसँगै ठगिनेको संख्यामा समेत निकै वृद्धि भइरहेको छ । यस्तै कसैलाई पनि कुनै ओटिपी कोड नदिने, स्क्रिन सेयर नगर्ने नै यसबाट जोगिने उपाय रहेको छ । विशेष गरि सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रलोभनमा पार्ने किसिमका विभिन्न विज्ञापन, साथीभाइको पछि लाग्दा ठगिने गरेका छन् ।





