बिहान साढे ६ बजे भएको दुर्घटनाले स्कुल समय, दुर्घटनाका कारण, गाडीको अवस्था, बिमा जस्ता विषयमा सोच्न बाध्य बनाएको छ ।
पोखरा/पोखरा–२८ माझठानकी १५ वर्षीया रुमिका नेपाली बिहान ट्युसन पढ्नका लागि घरबाट निस्किन् । कालिका बोर्डिङ स्कुलमा कक्षा १० मा पढ्ने रुमिकासँगै सुवेच्छा तिवारी, १३ वर्षकी असिम कँडेल, १५ वर्षकी ममता तिवारीसँगै अरु १३ जना विद्यार्थी पनि ट्युसन पढ्नका लागि बिहानै बस चढेर स्कुलतर्फ लागे । उनीहरूसँगै बसमा चालक ५७ वर्षीय तुलबहादुर गुरुङ थिए ।
उपचारका लागि पोखरा झर्दै आउँदै गरेका ६५ वर्षका स्थानीय बाबुराम तिवारी पनि बसमा चढे । केही बेरमै बस ओख्लेको भीरमा खस्यो । दुर्घटनामा परी रुमिका, सुवेच्छा, अमीम, ममता तिवारी र बाबुरामले ज्यान गुमाए । उद्धारमा खटिएका प्रहरी जवान अर्जुन शाहीसमेत घाइते भए ।
दुर्घटनाले सिंगो कालिका गाउँ शोकमा डुबेको छ । विद्यालयको लापरवाहीका कारण दुर्घटना भएको मृतकका परिवारसँगै आफन्तहरूले गुनासो गरेका छन् । रुमिकाकी आमा लक्ष्मीले आफूले बस निकै पुरानो भएको कुरा पटक पटक विद्यालयलाई जानकारी गराउँदै सो बस नपठाउन आग्रह गरेको सुनाइन् ।
उक्त बसलाई स्थानीय ‘बुढो बस’समेत भन्थे । ‘धेरै चोटि भनेको हो सरहरूलाई, मेरो तीन वटा बच्चा पढ्छन् त्यहाँ । त्यो गाडी पहिला पनि ठोक्किएको थियो । विद्यालयको लापरवाहीले नै यो भएको हो’, लक्ष्मीले भनिन्, ‘पटक–पटक भन्दा पनि त्यही पुरानो गाडी पठाउँदा आज मेरो नानीको ज्यान गयो । हामीलाई न्याय चाहियो ।’
विद्यालयले साह्रै नै पुरानो बस प्रयोग गर्दा दुर्घटना भएको अभिभावकहरुको दाबी छ । स्थानीय सीताराम तिवारी चालक पनि घाइते भएकाले चालकको लापरवाही नभएको अनुमान गर्छन् । सोही बसमा रहेका विद्यार्थीहरूले फोन गरेपछि उनी घटनास्थल पुगेको बताउँछन् ।
‘२–३ जना बच्चाहरू माथि नै खसेका रहेछन् । उनीहरूले फोन गरेर नै हामी त्यहाँ पुग्यौँ । दुर्घटनास्थल हेर्दा त कोही पनि बच्ला जस्तो देखिँदैन भने,’ सीतारामले सुनाए, ‘घाइते बच्चाहरूलाई तत्काल उद्धार गरेर यहाँ ल्यायौं, गाडी कच्याककुचुक छ । बस निकै पुरानो थियो, अब दुर्घटनाको कारण त अनुसन्धानबाटै थाहा होला ।’
उद्धारमा खटिएका प्रकाश खड्काले आफूलाई देख्नेबित्तिकै चालक तुलबहादुर गुरुङले पानी खुवाउन भनेको उल्लेख गरे । बालबालिका भन्दै थिए, ‘प्रकाश सर यो सपना हो कि विपना ?’ प्रकाश कालिका बोर्डिङका पूर्वशिक्षक हुन् । घटनालगतै त्यहाँ पुगेका उनी घाइतेहरूको उद्धारमा लागे ।
सोही क्रममा चालकलाई सोध्दा चालकले पूरै अँध्यारो देखेँ, के भयो भयो भनी हेर्दा बस खसिसकेछ भनी सुनाएको उल्लेख गरे । एकाबिहान ठूलो आवाज आउँदा केहीले टिपर खसेको अनुमान लगाएका थिए ।
दुर्घटना भएको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको स्कुल बसमा विद्यार्थी, चालक र सहचालक गरी २२ जना सवार रहेकोमा पाँच जनाको ज्यान गएको छ भने बाँकीको उपचार भइरहेको छ । दुर्घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा १५ प्रहरी उद्धारमा खटिएका थिए ।
केही समयपछि सशस्त्र प्रहरी बल कालिका गण पोखरा र नेपाली सेनाको टोली पनि उद्धार लागि पुगेको थियो । संयुक्त उद्धार टोलीले बिहान पौने ९ बजे घटनास्थलबाट सबैको उद्धार गरेको थियो । घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखरा–२८, सौर्यकी १६ वर्षीया विद्यार्थी सृष्टि तिवारी, सौर्यकै वर्ष १६ का अर्का विद्यार्थी सिसन थापा मगर र सोही वडाको डाडाँगाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको यहाँ उपचार भइरहेको छ ।
अन्यको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार जारी छ । पोखरा–२८, माझठानाकी वर्ष १५ की अस्मी कँडेलको स्वास्थ्य अवस्था गम्भीर छ । उहाँको टाउको र ढाडमा चोट लागेको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ पहिरेका १४ वर्षीया स्नेहा खत्री, माझठानाका १३ वर्षीय, सोनिया तिवारी, वर्ष १३ कै अंकित पराजुली, वर्ष १५ की स्मृति खत्री, वर्ष १६ की स्नेहा तिवारी, वर्ष १४ का आकृति बुढाथोकी र सुप्रिया आचार्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका घाइते वर्ष १५ की मेरिना तिवारी, वर्ष १६ का यमन मगर, बस चालक कास्कीको पोखरा–१५ बस्ने वर्ष ५७ का तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ । उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत वर्ष ३१ का प्रहरी जवान अर्जुन शाही सामान्य घाइते हुनु भएकोमो उपचारपछि उनी डिस्चार्ज भइसकेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
३ वर्षअघिको त्यो दुर्घटना
२०८१ साउनमा पोखरा २१ कृस्ती, रामदीमा एलपी देवकोटा बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो । उक्त घटनापछि पोखरा महानगरपालिकाले अहिलेकै जसरी छानबिन समिति बनायो । घटनाको प्रतिवेदन पेश गर्दै समितिले महानगरभित्र गुड्ने सम्पूर्ण विद्यालयका सवारी साधनले पालना गर्नुपर्ने सुरक्षा सर्तहरू लागू गर्न सुझायो ।
ती सुझाव कागजमै सीमित बने । शुक्रबार ओख्लेको दुर्घटना अवलोकनपश्चात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका महानगरका मेयर धनराज आचार्यले महानगरपालिकाको तर्फबाट कमजोरी भएको स्वीकारेका छन् ।
‘हामीले स्कुलका बसले हरेक ६ महिनामा प्राविधिक अवस्था हेर्नुपर्ने थियो । यो सबैले म म गर्ने कुरा हो,’ उनले भने, ‘जहाँ दुर्घटना भयो, अनुमान गर्नै नसकिने ठाउँ छ ।’
एलपी देवकोटाको बस दुर्घटनाको छानबिन प्रतिवेदनलाई आधार मान्दै महानगरभित्र गुड्ने सम्पूर्ण विद्यालयका सवारी साधनले प्राविधिक जाँच (ब्रेक, टायर, इन्जिनको अवस्था) गराई ’मेकानिकल फिटनेस’ प्रमाणपत्र तथा महानगरको आधिकारिक पास स्टिकर अनिवार्य टाँस्नुपर्ने नियम बनाइएको थियो । यस्तै विद्यालय सञ्चालन हुनुभन्दा बढीमा १ घण्टा ३० मिनेट अघिदेखि मात्र विद्यार्थी ओसारपसार गर्न पाइने र सवारी साधनमा गति सीमित गर्ने प्रविधि जडान हुनुपर्ने प्रतिवेदनको सुझाव थियो ।
फेरि छानबिन समिति
पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन् ।
समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित ५ दिनभित्र प्रतिवेदन पेस गर्ने छ । विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत प्रस्तुत गर्ने गरी समिति बनाइएको मेयर आचार्यले जानकारी दिए ।
छानबिनपछि विद्यालयलाई कारवाही नहुनेमा पीडितका परिवारहरु ढुक्क छन् । उनीहरुले लापरवाहीकै कारण घटना भएकाले विद्यालय लाई कारवाही हुनुपर्ने माग राखेका छन् ।





