सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा अवैध ‘ट्रान्स पार्टी’

पोखरामा अवैध ‘ट्रान्स पार्टी’

३८ जना समातिए, १२ जनाविरुद्ध मुद्दा


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८२, मंगलबार

पोखरा / पोखराको फेवातालमाथि रहेको सेदीको जंगल नजिकैको एक पुरानो घरमा विदेशीसँग मिलेर ट्रान्सपार्टी आयोजना गरेको पाइएको छ । अवैध मानिने ट्रान्सपार्टी गरेको आरोमा ३८ जना पक्राउ परेकोमा अरुलाई छाडेर १२ जना बिरुद्ध मुद्धा चलाइएको छ ।

सोमबार राती ट्रान्सपार्टी भइरहेको सूचना पाएपछि कास्की प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पोखरा वडा नम्बर १८ मा बमेन्द्र पुनले भाडामा लिएको घरमा पार्टी सञ्चालन गरिएको थियो । स्थानीय कृष्ण पराजुलीको पुरानो घर भाडामा लिई बमेन्द्र लगायतको समूहले ट्रान्स पार्टी आयोजना गरेको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले जनाए ।

गीतसंगीतसंगै झुमेको युवा जमातका लागि उक्त पार्टीमा मादक पदार्थ, लागु औषध सबै उपलब्ध थियो । त्यहाँ ब्राजिल, भारतदेखि नेपाली नागरिकसम्म थिए ।
अवैध ट्रान्स पार्टी कम्तीमा ७२ घण्टा चल्ने तयारी थियो । तर, पहिलो दिन नै उनीहरू प्रहरीको निगरानीमा परेका हुन् । कास्की जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोली राति साढे १ बजे पार्टी स्थलमा पुगेर ३८ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले पार्टीस्थलबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खैरो हेरोइन जस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन जस्तो देखिने पदार्थ), गाँजा, म्याजिक मसरुम, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड) कागज र तरल लगायत ९ प्रकारका लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
१२ जनामाथि मुद्दा
प्रहरीले पक्राउ परेका ३८ जनामध्ये १२ जनालाई मुद्दा चलाउने भएको छ । अन्य २६ जनालाई भने सोधपुछ गरेर छाडेको छ ।

मुद्दा चलाइएकामा भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा छन् । यस्तै पोखरा–६ का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङका २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि प्रहरीले मुद्दा चलाउने निष्कर्ष निकालेको छ । यस्तै ब्राजिलका नागरिक ४८ वर्षीय चाल्र्स गुवाइवामाथि पनि मुद्दा चलाउने प्रहरीको तयारी छ ।

पोखरामा यसअघि पनि प्रहरीको आँखा छलेर विभिन्न ठाउँमा ट्रान्स पार्टी हुने गरेका थिए । यद्यपि धेरैपछि मात्रै यति ठूलो संख्यामा पार्टी गर्नेहरु पक्राउ परेका हुन् । उनीहरुमध्ये ८ जनालाई लागुऔषध र ४ जनालाई अभद्र व्यवहारको मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

२०७५ चैतमा पोखराको खहरेबाट ४४ जना नेपाली र विदेशी पक्राउ परेका थिए । २०६९ सम्म पोखराको फूलबारी रिसोर्टमै ट्रान्स पार्टी हुने गरेको तथ्यले देखाएको थियो । अहिले फूलबारी बन्द छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->