पोखरा / गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको दाबी गरेका छन्। गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै ‘दूषित’ रहेको सार्वजानिक भएको हो।
फेवाताल जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्क्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार कानुन उपचारमा जाने बताएका छन्।
गृहमन्त्री गुरुङको सचिवालयका अनुसार पोखराको फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ८ वर्ष अगाडि मन्त्री गुरुङसहित तीन जना युवा उद्यमीले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए।
‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठुलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ। जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपुर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ,’ मन्त्री गुरुङले भने।
आफूहरूलाई झुक्क्याएको थाहा पाएपछि त्यहाँ तत्कालै निर्माणको काम रोकेको गुरुङले दाबी छ। ‘हामीलाई झुक्क्याएर, ठगेर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन,’ मन्त्री गुरुङले भनेका छन्।
मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ। ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभई अगाडि बढ्ने ब्यहोरा सबैमा अवगत गराउन चाहन्छु,’ मन्त्री गुरुङले भने।
फेवाताल पारिपट्टि सिम्ले लामडाँडामा रहेको जग्गा वार्षिक २ लाख रुपैयाँ भाडा बुझाउने गरी २०७४ मा गुरुङले लिएका थिए तर एक वर्षको भाडा मात्र उनले बुझाएको जग्गाधनीले बताएका छन् ।
सो जग्गा स्थानीय रेशमलाल गुरुङका ३ छोरा, मेखबहादुर गुरुङका ४ छोरा र बिर्खबहादुर गुरुङले भोगचलन गर्दै आएका थिए । मेखबहादुरका माइला छोरा ओमबहादुर गुरुङका अनुसार भाडामा लिएको जग्गामध्ये ६ रोपनी लालपुर्जावाला हो, बाँकी कित्ताकाँट गरेर भोगचलन गरिँदै आएको थियो ।





