पोखरा/ मानवसेवा आश्रम कास्कीले विभिन्न पूर्वाधार निर्माण तथा अक्षयकोष बृद्धिका लागि श्रीमद्भागवत सप्ताह, पितृ उद्धार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ ।
शाखाको भवन र लक्ष्मीनारायण मन्दिर सम्पन्न, मुक्तिनाथ धर्मशाला सेवा आश्रम निर्माण गर्ने योजना आश्रमको रहेको छ । आश्रमले आज पत्रकार सम्मेलनमार्फत बैशाख १९ गतेदेखि २६ गते सम्म महायज्ञ हुने जनाएको हो ।
महायज्ञ संयोजक अनिल कुमार शाहीका अनुसार आश्रम कास्की शाखाको निर्माणाधिन भवन आगामी असोज मसान्त भित्र सम्पन्न गरि ३०० जना सहयोगापेक्षीहरुलाई सेवा प्रदान गर्ने योजना छ । यसैगरी शाखाको हाल रहेको ३० लाख रुपैयाँको अक्षयकोषलाई १० करोड पुराउने, २०७८ सालमा भएको सहयोगापेक्षी सडकआश्रित मानवमुक्त गण्डकी प्रदेश घोषणालाई पूर्णरुपमा कार्यन्वयन गर्न महायज्ञको आयोजना गरिएको हो । ‘२०८३ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पुरा गर्न यसको आधार तय गर्दै आम सर्वसाधारणमा मानवता प्रवर्धनमा टेवा पुर्याउन पनि महायज्ञको आयोजना गरेका हौ’, शाहीले भने, ‘निर्माणधिन लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्न गर्दै प्राणप्रतिष्ठा गरि नियमित पुजा सन्चालन गर्ने र मुक्तिनाथ मन्दिर दर्शनको लागि जाने र आउने भक्तजनहरुका लागि विश्राम स्थल मुक्तिनाथ सेवा आश्रम (धर्मशाला) निर्माण गर्ने महायज्ञको थप लक्ष्य हो ।’
भागवत भाष्कर कमलनयन गौतमले श्रीमद् भागवत कथा प्रवचन एवं दाता सम्मानको कार्यक्रम गर्ने महाज्ञमा वृहत योग शिविर, युवा विद्यार्थीलाई मनको व्यवस्थापन, सकारात्मक सोच एवं मानवता प्रवद्र्धनका ज्ञानवर्धक उत्प्रेरणात्मक कार्यक्रमहरु संचालन हुनेछन् । निशुल्क स्वास्थ्य शिविर पनि हुनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, सङ्गीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू प्रस्तुत हुनेछन् भने पञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ, परायण आदिका धार्मिक अनुष्ठानका सेवाहरु पनि हुनेछन् ।
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभिष्ट राखी २०६९ साल भाद्र १३ गते मानवसेवा आश्रमले हेटौंडाबाट मानवीय सेवा शुभारम्भ गरेको थियो । आश्रमको अहिले सातै प्रदेशका २२ जिल्लाहरुमा २९ वटा सेवा केन्द्रहरु संचालनमा छन् भने २१०० जना सहयोगापेक्षी संरक्षणमा रहेका छन् । पोखरा सेवा केन्द्रमा विभिन्न उमेर समूहका २७५ जना संरक्षणमा रहेका कार्यक्रममा जनाइयो ।
आश्रमले न्युनतम मानवअधिकार (मानवोचित व्यवहार) प्राप्त गर्न नसकी खुला आकाशमुनी, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैले केही गर्न नसक्ने अवस्थाका सहयोगापेक्षी मानबहरुको उद्धार, पालनपोषण, संरक्षण, पारिवारिक पुनः मिलनसँगै मानवता प्रवर्दनका कार्यक्रमहरु संचालन गर्दै आएको छ । आश्रमको खर्च व्यवस्थापन अन्तर्गत स्वदेश र विदेशमा रहेका परोपकारीबाट प्राप्त हुने ६० प्रतिशत नगद जिन्सी योगदान र तीनै तहको सरकारबाट प्राप्त हुने ४० प्रतिशत आंशिक अनुदान रहेको छ । उद्दार गर्नु पर्ने सहयोगापेक्षीहरुको सङख्या दैनिक रुपमा वृद्धि भइरहेकाले मानवोचित व्यवस्थापनमा आश्रमको आफ्नै भवन निर्माण सम्पन्न हुन अति जरुरी भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
अक्षयकोष मजबुत भएमा खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्न सहज हुने महसुस गरी आश्रमले अक्षयकोषको अवधारणा ल्याएको उनले बताए । पोखरा–२५ हेम्जा बाबियतरामा निर्माणाधीन भवनमा हालसम्म करिब ८ करोड खर्च भइसकेको आश्रमले जनाएको छ । महायज्ञमा सहभागिताका लागि आश्रमले कास्की मात्र नभई गण्डकी प्रदेशवासीसमक्ष अनुरोध गरेको छ ।
आश्रमको पोखरा शाखामा रहेका २७५ जनालाई पालनपोषण लगायतका लागि मासिक करिब ३० लाख खर्च हुने जनाइएको छ । महायज्ञ सम्पन्न गर्न १००१ सदस्यीय मुल समिति गठन गरिएको छ । कार्यक्रममा सहसंयोजक धर्मराज बास्तोलाले स्वागत गरेका थिए ।





