पोखरा / गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको वडा प्रहरी कार्यालय बगरको पुनर्निर्माण गरिएको छ । जेनजी समूहको आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीमा कार्यालयमा रहेका भौतिक संरचना तथा कार्यालय भवन र व्यक्तिगत सामग्रीहरु क्षतिग्रस्त भएपछि यसको पुनर्निर्माण गर्ने जिम्मा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले लिएको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा केन्द्रका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरु सदस्य रहने गरी भवन पुनर्निर्माण समिति गठन गरिएको थियो । पुनर्निर्माण समिति, स्थानीय निकाय, संघ संस्था, व्यवसायी, आम समूह, युवा क्लब तथा सामुदायिक प्रतिष्ठित व्यक्तित्वहरुबाट प्राप्त नगद ४ लाख १० हजार ४ सय ३० र ३५ लाख ८९ हजार ८ सय ५० रुपैयाँ बराबरको जिन्सी सामग्री गरी ४० लाख २ सय ८० रुपैयाँ बराबरको कार्यालय भवन, ब्यारेक भवन, मेशको पुनर्निर्माण गरिएको हो ।
पुनर्निर्माण गरिएका सम्पूर्ण संरचना आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीको रोहबरमा पुनर्निर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीले वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटालाई हस्तान्तरण गरे । वडा प्रहरी कार्यालय बगर परिसरमा पुरुषोत्तम श्रेष्ठकै संयोजकत्वमा बनेका अधिकांश संरचना जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति भएपछि उनै श्रेष्ठले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरको सहयोगमा पुनर्निर्माण गर्ने जिम्मा लिएसँगै यो अभियानले सार्थकता पाएको थियो ।
‘जब हेर्दाहेर्दै वडा प्रहरी कार्यालय बगरमा भएका भौतिक संरचनासँगै यहाँका सम्पूर्ण सामग्री आगो लागेर खरानी भयो त्यतिखेर यहाँका प्रहरी साथीहरु हामीमाझ आएर आँखाबाट आँसुका साथ पीडा सुनाए, हामी भावविह्वल भयौँ’ त्यो दिन सम्झँदै श्रेष्ठले भने, ‘स्थानीयकै सहयोगमा बनेको भवनसँगै सम्पूर्ण सामग्री नष्ट भएपछि प्रहरीको मनोबल बढाउँदै सम्पूर्ण निर्माण काम हामी गर्छौँ भनेर अठोट गर्यौँ, यहाँहरुकै सहयोगले यो काम सम्पन्न भएको छ ।’ उनले यो अभियानमा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले भवन निर्माणमा जोडिएका सम्पूर्णलाई हृदयदेखि नै आभार प्रकट गरे । ‘त्यो बेलाको पीडा यति दर्दनाक थियो कि सम्झँदै मन झसंग हुन्छ’ उनले भने, ‘प्रहरीका समस्यालाई तत्काल बुझेर सामुदायिक सेवा केन्द्र बगरले गरेको यो पहलकदमी सधैँ स्मरण रहने छ ।’ यहाँहरुको सक्रिय सहभागिताले नै वडा प्रहरी कार्यालय बगर क्षेत्रभित्र जनसंख्या बढे पनि अपराधका घटनामा कमी भएको उनको भनाइ थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी तुल बहादुर कार्कीले बगरको सामुदायिक सेवा केन्द्रका हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सार्वजनिक सम्पत्तिमा भएको आगजनी जो जसले गरे पनि गलत हुने बताउँदै प्रहरीका हरेक गतिविधिमा महानगरको पूर्ण रुपमा साथ रहने उल्लेख गरे । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले बगर सामुदायिकले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले पुनर्निर्माणको आम्दानी र खर्चको बारेमा जानकारी गराए । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन समेत गरियो ।
कार्यक्रममा भवन पुनर्निर्माणमा सहयोग गर्ने वडा प्रहरी कार्यालय बगरका प्रहरी नायव निरीक्षक यान बहादुर कुँवर, प्रहरी वरिष्ठ हवल्दार लक्ष्मी खत्री, प्रहरी वरिष्ठ हवल्दार तुलसीराम तिमिल्सीना, ट्राफिक प्रहरी हवल्दार बुद्धि लामिछाने, प्रहरी सहायक हवल्दार भोला नाथ पौडेल, प्रहरी सहायक हवल्दार विनोद बहादुर केसी र एसीजोमालाई सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले सम्मान गरेको थियो ।
त्यस्तै पुनर्निर्माणमा अहोरात्र खटिएका पुनर्निर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारी, सचिव कृष्ण बहादुर तामाङ, कोषाध्यक्ष कमल प्रसाद बास्तोला, सदस्य चित्रबहादुर थापा, प्रहरी हवल्दार गौतम कुमार हायु र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई वडा प्रहरी कार्यालय बगरले प्रशंसा पत्र प्रदान गरेको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सिता गुरुङ, सचिव कृष्ण बहादुर तामाङ, त्रिशक्ति सेवा समाजका अध्यक्ष प्रविन सुवेदी, ढिकुरपोखरी समाजकी अध्यक्ष लक्ष्मी अधिकारीले बोलेका थिए ।





