सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रदेशका लोक सेवा आयोगले एकै खाले सिद्धान्त र मापदण्ड लागु गर्ने

प्रदेशका लोक सेवा आयोगले एकै खाले सिद्धान्त र मापदण्ड लागु गर्ने


  • ढाेरपाटन संवाददाता
  • चैत्र ३० २०८२, सोमबार

पोखरा/ लोक सेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलनले ‘लोक सेवा आयोगको सिद्धान्त र मापदण्ड २०८२’ स्वीकृत गरेको छ । स्वीकृत सिद्धान्त र मापदण्डलाई सार्वजनिक गर्ने निर्णयसमेत सम्मेलनले गरेको छ ।

पोखरामा सोबबार सम्पन्न छैटौं सम्मेलनले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ बमोजिम तयार पारिएको मस्यौदामा प्राप्त सुझावलाई समेटेर सिद्धान्त र मापदण्ड पारित गरेको हो । नयाँ मापदण्ड सार्वजनिक भएपछि त्यसैका आधारमा सूचकहरू निर्धारण गरी सबै प्रदेश लोक सेवा आयोगहरूले आवश्यकता अनुसार स्वमूल्यांकन वा समकक्षी मूल्यांकन गर्ने निर्णय समेत सम्मेलनले गरेको  छ ।

पोखरामा चैत २९ र ३० गते सञ्चालन भएको सम्मेलनले योग्यता प्रणालीको प्रवद्र्धक र संरक्षकको जिम्मेवारीलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनले सार्वजनिक प्रशासनमा उपयुक्त जनशक्ति आकर्षण गर्न र प्रतिस्पर्धात्मक परीक्षाका माध्यमबाट योग्य एवं सक्षम उम्मेदवार छनोट गर्न साझा धारणा बनाएको छ । संघीयताको मर्म र भावना अनुकूल हुने गरी योग्यता, निष्पक्षता, स्वच्छता र समावेशिताको सिद्धान्तलाई सुदृढ बनाउन आफूहरू प्रतिबद्ध रहेको पदाधिकारीहरूले घोषणापत्र मार्फत उल्लेख गरे । पहिलो सम्मेलनदेखि पाँचौँ राष्ट्रिय सम्मेलनसम्मका निर्णय र प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्ने प्रण समेत उनीहरूले गरे ।

सम्मेलनले लुम्बिनी प्रदेश लोक सेवा आयोगमा नियुक्त भएका अध्यक्ष हरीप्रसाद बस्याल र सदस्य ताराप्रसाद भुसाल तथा बागमती प्रदेशमा नियुक्त भएकी सदस्य पुनम घिमिरेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यसै गरी लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष डिलाराम भट्टराई र सदस्य बाबुराम गौतम, कोशी प्रदेशका सदस्य टीकादत्त राई र सजना दाहाल, मधेस प्रदेशकी सदस्य सुजाता देव र बागमती प्रदेशकी सदस्य शर्मिला न्यौपानेले पु¥याएको भूमिकाको उच्च कदर गर्दै सुखद जीवनको कामना गरिएको छ ।

छैटौँ राष्ट्रिय सम्मेलनको समन्वय गण्डकी प्रदेश लोक सेवा आयोगले गरेको थियो । लोक सेवा आयोगहरूको आगामी सातौँ राष्ट्रिय सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेस प्रदेशमा आयोजना गरिने तय भएको छ । सम्मेलनको अन्त्यमा जारी गरिएको घोषणापत्र र निर्णयमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहित विभिन्न प्रदेशका अध्यक्षहरू यज्ञराज बोहोरा, वसन्तीकुमारी सिंह शाही, हरिप्रसाद बस्याल, महेश्वर श्रेष्ठ, शिवराम यादव, महेन्द्रप्रसाद गुरागाईँ र विष्णुप्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->