पोखरा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापाले पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
शुक्रबार भएको निर्वाचनको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको थियो। मतगणना सम्पन्न भएपछि महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले थापा सभापतिमा निर्वाचित भएको जानकारी दिएका हुन्।
अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका छन्। निर्वाचनमा ५४ मत बदर भएको थियो। कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सभापति पदको मतगणना सकिए पनि अन्य पदका मतपेटिका भने कांग्रेसको केन्द्रीय कार्यालय सानेपा लगिएको छ। अन्य पदको मतगणना दिउँसोबाट सरू गरिने बताइएको छ।






