पोखरा / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताएकी छन्। शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले आफ्नो भनाइ राखेकी हुन्।
भण्डारीको भनाइ उद्धृत गर्दै एमाले सचिव पद्या अर्यालले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा मडराइरहेकाले पार्टीमा आवद्ध भएको जिकिर गरेको बताइन्।
बैठक समापन हुनुअघि वरिष्ठ नेता भण्डारीले बोलेकी थिइन्। अर्यालका अनुसार, भण्डारीले बैठकमा भनिन्, ‘वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब ११ वर्षपछि आफू पार्टी जीवनमा फर्किएको र आजको मुलुकमा जुन लोकतन्त्र र संविधानप्रति जुन खतरा देखिरहेको छ, यसको रक्षा गर्ने भनेको जसले लोकतन्त्र ल्याए तिनै राजनीतिक दलहरुले नै यसको रक्षा गर्ने हो।’
अर्यालकाअनुसार भण्डारीले लोकतन्त्रको रक्षा लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै गर्नुपर्ने बताइन्। लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि धेरै योगदान गरेकाले पार्टीमा आवद्ध भएर लोकतन्त्रलाई अझै सुदृढ बनाउने चाहना रहेको उनको भनाइ थियो।
‘म पनि त्यो आन्दोलनमा सरिक भएँ, त्यसप्रतिको आघात माया र विश्वास छ, पार्टीमा आवद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्नसक्छु भन्ने मनशायका साथ पार्टीको जीवनमा फर्किएको कुरा बताउनुभयो,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्यालले भनिन्।
बैठकमा एमालेको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पोलिटब्युरो सदस्यहरूको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयनबारे सदस्यहरूले आफ्नो सुझाव राखेका छन्।




